सुदूरपश्चिम

गड्डाचौकी नाकाबाट २ हजारभन्दा बढी नेपाली भित्रिए



कंचनपुर, १२ जेठ ।  कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारतका विभिन्न स्थानमा अलपत्र आज दुई हजारभन्दा बढी नेपालीहरु स्वदेश भित्रिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपरमा बसेको सुरक्षा समितिको बैठकले गड्डा चौकी नाकाबाट सुरक्षा सर्तकता अपनाएर नेपालीलाई भित्रिन दिने निर्णय गरेको थियो ।

        कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बेलुकीसम्म नेपालीहरु फर्किने क्रम जारी रहेको बताउनुभयो । “भारतबाट आउने सबैको तापक्रम मापनलगायत स्वास्थ्य परीक्षण गर्दा सबैको अवस्था सामान्य देखियो ।” सहायक प्रजिअ उपाध्यायले भन्नुभयो, “एक हजार पाँच सयभन्दा बढी नागरिक सम्बन्धित पालिकातर्फ हिडिसकेका छन् । दिउँसो १२ बजेदेखि खोलिएको गड्डाचौकी नाका राति भएपछि आवागमन बन्द गरिएको छ ।”

        प्रशासनले भोलिदेखि भने बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म भारतबाट अलपत्र परेका र समस्यामा रहेका नेपालीलाई आउन दिने जनाएको छ । भारतीय सुरक्षाकर्मीहरु नेपाल–भारत सीमा क्षेत्रसम्म नेपालीलाई पु¥याएका थिए । उनीहरुको गड्डाचौकी नाकामा नेपाली सेना र जनस्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेपछि थप व्यवस्थापनका लागि भन्सार कार्यालय परिसरमा राखिएको थियो । भन्सार परिसरमा भोकै बसेका नागरिकलाई कञ्चनपुरका युवा व्यापारी तथा व्यवसायीहरुले खाना र पानीको प्रबन्ध मिलाएका थिए । 

        नेपाली सेनाको सीमा नाकामा सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकले खाना र पानी वितरण गरेको थियो । “सीमामा केही समययता नेपाली भोकै बसेको पनि सुनियो ।” यहाँका युवा व्यापारी दिनेश मल्लले भन्नुभयो, “साथीहरुको समन्वय र सहयोगी भावले नै आज अलपत्र नेपालीहरुको भोक र प्यास मेटाउन सक्यौँ ।”

        युवा व्यापारी तथा व्यवसायीका साथै केही सञ्चारकर्मीहरुको पहलमा नाकाबाट भित्रिएका दुई हजार जनालाई खाना खुवाइएको थियो । त्यसैगरी कञ्चनपुर प्रशासनले नाकामा भित्रिने व्यक्तिहरुको विवरण सङ्कलन गरिरहेको छ ।

        भित्रिएका नेपालीलाई सम्बन्धित स्थानीय तहमा पठाउन लागिएको सहायक प्रजिअ उपाध्यायले जानकारी दिनुभयो । “कालिकोटलगायतका केही जिल्लाका नागरिकलाई पठाइसकेका छौँ ।” उहाँले भन्नुभयो, “अरुलाई पनि गन्तव्यमा पठाउन यातायातको व्यवस्था गरिएको छ ।”

        उता गड्डा चौकी नाका खुलेसँगै सीमावर्ती भारतीय बजारमा नेपाली आउने क्रम बढेको छ । कञ्चनपुरको ब्रह्मदेव, दोधारा चादँनीलगायतका सीमानाका छलेर नेपालीहरु भारतबाट आउने क्रम बढेपछि स्थानीय प्रशासनले गड्डा चौकी नाकाबाट आवागमन सुचारु गरेको हो । (रासस)

प्रकाशित : १२ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६