स्वास्थ्य

समस्यामा अशक्त, विपन्न र स्वास्थ्यकर्मी


१६ जेष्ठ २०७७, शुक्रबार


बुटवल १६ जेष्ठ ।  बिरामी र दीर्घरोगी गाउँलेले होम क्वारेन्टिनमा राख्न नमानेपछि असहज अवस्थाकाबीच सामुदायिक क्वारेन्टिनमा बस्न बाध्य छन् । बिरामी, सुत्केरी र गर्भवतीसमेत खानपान र अव्यवस्थित बसाइका कारण समस्यामा परेका हुन् । शिशु गुमाएर पीडामा पर्नुभएका ऐरावती गाउँपालिका–६ बिजुली थामकी सम्झना परियारलाई क्वारेन्टिनमा बस्दा पौष्टिक आहाराको अभावमा थप समस्या झेल्नुप¥यो । सुत्केरी अवस्थामा चाहिने झोलिलो पदार्थ, अण्डा, माछामासु, फलफूल, गेडागुडी, दूधलगायत खाना नपाएपछि चक्कर लाग्ने गरेको परियारको गुनासो छ ।

       “कमजोरीले केही समय बेहोस भएर समस्या भयो”, परियारले भन्नुभयो,  “अहिले राम्रोसँग उभिन सक्दिन ।” गत वैशाख २७ गते व्यथा लागेपछि २८ गते भैरहवा मेडिकल कजेलमा पु¥याइएकी परियार ३० गते शल्यक्रिया गरेर सुत्केरी हुनुभयो । शिशुको स्वास्थ्यावस्था नाजुक रहेका कारण चार दिनसम्म आइसियूमा बसेकी परियारले जेठ २ गते शिशुसमेत गुमाउनुप¥यो । शिशु गुमाएपछि बेहोश उहाँका साथमा कुरुवाका रुपमा ससुरा र छिमेकी जेठानी दिदी थिए । सुत्केरी परियारका ससुरा डोरबहादुर दमाईँ बेहोश बुहारी लिएर एम्बुलेन्समा घर फर्कनुभयो । 

            गाउँमा पुग्नासाथ जनप्रतिनिधिले क्वारेन्टिनमा लैजान भनेपछि उहाँलाई थप समस्या भयो । जेठ २ गते राति क्वारेन्टिनमा आएकी बुहारीको पाँच दिनपछि मात्रै होश आएको दमार्इँले सुनाउनुभयो ।मल्लरानी गाउँपालिका–४ गहतेराका राजु थापाले सोही क्वारेन्टिनमा मंगलबार श्रीमती गुमाउनुभयो । ब्रेन ट्युमरको फागुनमा दोस्रो पटक शल्यक्रिया गरी अस्पतालबाट डिस्जार्च भई गाडी रिजर्भ गरी आउनुभएका उहाँले आफ्नी जेठीसासूको घर खाली भएका कारण  बस्ने माग गरे पनि सुनुवाइ नहुँदा श्रीमतीलाई छिटो गुमाउनुपरेको गुनासो गर्नुभयो ।

            “छ महिनासम्म बाँच्नुहुन्छ भन्ने चिकित्सकको सुझाव थियो”, थापाले भन्नुभयो “क्वारेन्टिनमा बस्नु परेपछि दुई महिना पनि बचाउन सकिन ।” थापाको परिवार भारतको सरकारी अस्पतालमा कोरोना परीक्षण गरी नेगेटिभ रिपोर्ट आएपछि घर फर्किएको थियो । सुत्केरी र दीघरोगीलाई होम क्वारेन्टिनमा राख्न खोज्दा गाउँकै बुद्धिजीवीले समेत चर्को विरोध गरेपछि सामुदायिक क्वारेन्टिनमा राख्नुपर्ने बाध्यता रहेको ऐरावती–६ का वडाध्यक्ष चन्द्रबहादुर रानाले जानकारी दिनुभयो । “यहाँ सुरक्षित रुपमा अस्पतालमा गएर आएका बिरामीलाई घरमा राख्ने प्रयास गर्दा अवरोध हुने गरेको छ ”, रानाले भन्नुभयो, “प्रयास गर्दागर्दै नसकेपछि सामुदायिक क्वारेन्टिनमा राख्यौँ ।

            ” भारतबाट आएका अनिवार्य क्वारेन्टिनमा र घरबाट अस्पताल गई  फर्केकालाई होम क्वारेन्टिनमा राख्न खोजिएको भए पनि समुदायको अवरोधले सामुदायिक क्वारेन्टिनमै राखिएको रानाको भनाइ छ । यहाँका चार हजारभन्दा बढी क्वारेन्टिनमा रहेकामध्ये छ  सुत्केरी, आठ  गर्भवती र ६० भन्दा बढी दीर्घरोगी रहेको स्थानीय तहले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । क्वारेन्टिनमा पायल्स, उच्च रक्तचाप, मधुमेहलगायत रोगी रहेको नौबहिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार दीर्घरोगीलाई अस्पतालबाट औषधि ल्याइदिने व्यवस्था मिलाइएको छ । 

                एम्बुलेन्समा अस्पतालबाट आएकी सुत्केरीलाई क्वारेन्टिनमा राख्न नचाहे पनि स्थानीयवासीको  दवावले यस्तो गर्नुपरेको  ऐरावतीका अध्यक्ष नविलविक्रम शाहले बताउनुभयो । “सुत्केरीका छिमेकीले  घर जान नदिएपछि क्वारेन्टिनमा राख्न बाध्य भयौँ”, अध्यक्ष शाहले भन्नुभयो,  “अब तत्काल ¥यापिड डाइग्नेष्टिक टेष्ट आरडिटी परीक्षण गरी घर फर्काउने व्यवस्था मिलाउछौँ । ” 

               बिरामी, दीघैरोगी, सुत्केरी र गर्भवतीसमेतको अवस्था पहिचान गरी होम क्वारेन्टिनमा राख्ने जनप्रतिनिधिको सोच रहे पनि गाउँलेको दवावले थेग्न नसक्दा अशक्तले कठिनाइ व्यहोर्र्नुपरेको उहाँको तर्क छ ।  देशका विभिन्न जिल्लाबाट आएका अन्य गर्भवती र सुत्केरी पनि सामुदायिक क्वारेन्टिनमा समस्या भोगेरै घर फर्केका छन् । गर्भवती, सुत्केरी, दीर्घरोगीलगायतको व्यवस्थापन र सामान्य मानिसको व्यवस्थापनमा फरक नहुँदा उनीहरुलाई समस्या भएको हो । 

            स्वास्थ्यावस्थाका दृष्टिले अन्यभन्दा गर्भवती, सुत्केरी र दीर्घरोगीको वर्गिकरण गरी क्वारेन्टिन व्यवस्थापन गर्र्नुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले बताउनुभयो । उहाँले अर्बुदरोग, मधुमेह, ज्येष्ठ नागरिक, सुत्केरी र मिर्गौला रोगीकको अलगअलग तरिकाले व्यवस्थापन गर्न सुझाउनुभयो । 

प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे