एजेन्सी, २० जेठ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना प्रभावित मुलुकको सूचीमा भारत ७ औं नम्बरमा परेको छ । अमेरिका, ब्राजिल, रूस, स्पेन, बेलायत र इटालीपछि भारत संक्रमित धेरै हुने मुलुकको प्रमुख ७ औँ देशमा परेको हो । भारतमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २०० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६ सय ८ पुगेको हो ।
एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या करिब २ लाख पुग्न लागेको छ । वर्ल्डोमिटर्सको तथ्यांकानुसार १ लाख ९८ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ९५ हजार ७५४ जना संक्रमणमुक्त भएका छन् । त्यहाँ एकै दिन ७ हजार ७६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्याइएको छ । तर उक्त लकडाउन पनि जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ । भारतमा केही दिनदेखि कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । भारतमा रहेको ठूलो जनसंख्याको कारण पनि भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिदै गएको हो ।
प्रतिक्रिया