कञ्चनपुर, २५ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ भकुण्डाका करिब ३५ वर्षीय लालबहादुर चौधरीको गन्धानालामा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार धानको बीउ छर्नका लागि युरिया मल लिएर आउँदै गरेका चौधरी नाला तर्न बनाइएको काठको फल्याक तर्ने क्रममा नालामा खस्दा डुबेर मृत्यु भएको हो ।
चौधरीले नगरपालिकाको वडा नं १५ हरितटोलका बासिन्दाको खेत अँधिया लगाएर परिवार पाल्दै आएको बताइएको छ । चौधरी अपाङगता भएका व्यक्तिसमेत रहेका थिए । स्थानीय बालबालिकाले साँझपख नालामा चौधरी डुबेको देखेपछि बचाउने कोसिस गरे पनि बचाउन सकेनन् । उनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । मृतक चौधरीका दुई छोरी र श्रीमती छन् ।
प्रतिक्रिया