जुम्ला, २८ असार । सरकारले शत्रुजीव सलह किरा नेपालमा सक्रिय नभएको बताइरहँदा सलहको बगाल जुम्लामा देखा परेको छ । छिमेकी जिल्ला रुकुम र जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको सलह कीरा जुम्ला पुगेको छ। जिल्लाको पातारासी गाउँपालिकामा सलह कीरा देखा परेको हो । पातारासी गाउँपालिका १ र २ का केही बस्तीमा सलह कीराका झुण्ड प्रवेश गरेको भेटिएको किसानले बताएका छन्। जताततै सलह किराको बथान देखिएको बालीनालीमा पनि धेरै क्षति पुर्याएको स्थानीय किसानहरूले जानकारी दिएका छन्। सलहले आलु र मकै बारीमा प्रवेश गरेर ठुलो नोक्सान गरेको किसानहरु बताउँछन् ।
गाउँपालिकामा सलह कीराको झुण्डहरु प्रवेश गरेकोले किसानलाई सचेत रहन आग्रह गरिएको छ। कृषि विकास शाखा संयोजक रुपक बुढाले सलह मार्न प्रविधि र विषादीको प्रयोग गर्नु पर्ने अवस्था आउन सक्ने बताउनुभयो । थाल बजाउने ठूला ठूला आवाज निकाल्ने, धुवा लगाउने जस्ता विधि अपनाउनु पर्ने बुढाले बताउनुभयो । अहिले पातारानीवासीले ठूलो आवाज निकाल्ने र धुँवा जस्ता विधिबाट सलहलाई तितरबितर पार्ने प्रयास गरिरहेका छन्। ठूलो संख्यामा सलह प्रवेश गरेकोले जुम्लाको स्याउ, मकै, उवा गहुँ लगायतका रैथाने बालीमा क्षति पुगेको छ।
प्रतिक्रिया