स्वास्थ्य

कोरोनाका कारण थप तीन जनाको मृत्यु



पर्सा १६ साउन । वीरगञ्जमा कोरोनाका कारण थप तीन जनाको ज्यान गएको छ ।दुई जनामा मृत्युपछि कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो भने कोरोना पुष्टि भएका एक भारतीय नागरिकको उपचारको क्रममा ज्यान गएको हो ।उपचारको क्रममा ज्यान गुमाएका वीरगञ्ज १६ नगवाका ३५ वर्षीय युवा र सेवानिवृत्त ६५ वर्षीय कर्मचारीको पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको छ ।

          ३५ वर्षीय युवाको कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा र सेवानिवृत्त कर्मचारीको घरमै ज्यान गएको हो । ज्वरो आउने, श्वासप्रश्वासको समस्या लिएर मंगलबार कोभिड अस्पतालमा भर्ना भएका ती युवालाई स्वाबको नमुना लिएर इमर्जेन्सीमा भर्ना गरिएको थियो । उहाँको उपचारकै क्रममा हिजो बिहीबार बेलुकी ज्यान गएको डाक्टर निरज सिंहले जानकारी दिनु भयो  । 

                       ज्वरो आएपछि ती युवालाई साउन ५ गते क्लिनिकमा देखाइएको थियो । स्वास्थ्यमा सुधार नआएपछि  १३ गते तराई अस्पताल लगिएको थियो ।  अस्पतालले त्यसै दिन कोरोना अस्पतालमा रिफर गरेको थियो । उहाँको मृत्युपछि पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा मदनकुमार उपाध्यायले बताउनुभयो । यस्तै हिजो बिहान घरमै मृत्यु भएका वीरगञ्ज २ छपकैयाका ६५ वर्षीय पुरुषमा पनि मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

            
कोरोना भाइरसको सङ्क्रमण मिल्दोजुल्दो लक्षण देखा परेको हुनाले घरका सदस्यले अस्पताललाई खबर गरेका थिए । अस्पतालको टोली गएर स्वाब संकलन गरेको थियो भने शवलाई नारायणी अस्पतालमा ल्याएर राखिएको थियो ।यसैगरी कोरोना पुष्टि भएपछि उपचार गराइरहेका ५६ वर्षका भारतीय नागरिकको पनि राति ज्यान गएको गण्डक अस्पतालले जनाएको छ । बिहीबार पर्सा, बारा र रौतहटमा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

         सङ्क्रमितमध्ये ८ जना महिला छन् ।नारायणी अस्पतालमा कार्यरत २ स्टाफ नर्स, १ जना सफाइकर्मी, औषधि कम्पनीबाट पेड पीसीआर परीक्षण गराएका १३ जना पर्साका छन् । बाराका २ जना र रौतहटका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । साउनमा मात्र पर्सामा ज्यान जानेको संख्या ८ पुगेको छ । योभन्दा अघि बारा र रौतहटका एकरएक जनाको वीरगञ्जमै ज्यान गएको थियो ।  

प्रकाशित : १६ श्रावण २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६