स्वास्थ्य

एक महिनामा ४९ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि



बैतडी १९ भदौँ । बैतडीमा एक महिनामा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिकामा २५ महिला र ११ पुरुष गरी ३६ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै पाटन नगरपालिकामा तीन महिला र एक पुरुष गरी चार, दोगडाकेदार गाउँपालिकामा चार महिला र दुई पुरुष गरी छ, मेलौली नगरपालिकामा एक महिला, पञ्चेश्वर गाउँपालिकामा एक पुरुष तथा सिगास गाउँपालिकामा एक महिलामा स्क्रब टाइफस पुुष्टि भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

       जिल्ला अस्पताल बैतडी र अन्य स्वास्थ्य संस्थाहरुमा उपचारका लागि पुगेका व्यक्तिहरुको आरडीटी जाँच गर्दा स्क्रब टाइफस देखिएको जोशीले जानकारी दिनुभयो । गएको आर्थिक वर्षमा जिल्लाभरि ४० जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको थियो । यो वर्ष भने एक महिनाकै अवधिमा ४९ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

               माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।यस्तै जिल्लामा डेङ्गुका बिरामी पनि देखिन थालेका स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको दशरथचन्द नगरपालिकाका दुई महिला र एक पुरुषमा डेङ्गु रोग देखा परेको जोशीले बताउनुभयो ।

                डेङ्गु एडिज नामको पोथी लामखुट्टेको टोकाइबाट हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा राता डाबरहरु आउनेलगायतका लक्षण देखा पर्छन भने डेङ्गु भएमा पनि उच्च ज्वरो आउने भएकाले यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा जान स्वास्थ्यकर्मीहरुले सुझाएका छन् । 

प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६