स्वास्थ्य

अस्वस्थ खानपानका कारण मुटु रोग लाग्ने सम्भावना धेरै



असोज १३ ,काठमाण्डौ -अस्वस्थ खानपान र जीवनशैलीका कारण मुटु रोग लाग्ने सम्भावना धेरै हुने भएकाले ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । पछिल्लो समय तयारी खानेकुरा खाने, घर बाहिर खाने, चिल्लो, बोसोयुक्त खानेकुराका साथै रक्सी, चुरोट खाने तर व्यायाम नगर्ने कारणले मुटुका रोगी बढेका मुटुरोग विशेषज्ञ डाक्टर अमित श्रेष्ठले बताउनुभयो ।

चिल्लो तथा बोसो भएको खानेकुरा कम खाने, कसरत गर्ने र नुन कम खान सके मुटु रोग लाग्नबाट केही हदसम्म बच्न सकिने उहाँको भनाइ छ । यस्तै अहिले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले मुटुरोगीलाई समस्या थपिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रकाशराज रेग्मीले बताउनुभयो । मुटुसम्बन्धी कुनै पनि रोग गम्भीर स्वास्थ्य अवस्था भएकाले त्यसलाई बेवास्ता गर्दा घातक परिणाम निम्तिन सक्ने बताउँदै उहाँले आफूलाई रक्तचाप, हाई कोलेस्टेरोल, मधुमेह वा अन्य किसिमका समस्या भएको जस्तो लाग्नासाथ उपचार गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले मुटुरोगीलाई एक लाख रुपियाँ औषधि उपचारबापत बेहोर्दै आएको छ । १५ वर्षभन्दा मुनिका बालबालिका तथा ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य उपचार तथा मुटुसम्बन्धी सम्पूर्ण शल्यक्रिया निःशुल्क रुपमा गरिरहेको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, मनमोहन कार्डियोभास्कुलर सेन्टरलगायतका सरकारी स्वास्थ्य संस्थामा १५ वर्षभन्दा कम र ७५ वर्ष उमेरभन्दा माथिका वृद्धको निःशुल्क उपचार हुने गरेको छ । यस्तै मुटुको भल्ब बिग्रिएको रोगको सरकारले निःशुल्क उपचार गर्ने गरेको छ । मुटुको भल्ब फेर्नुपर्ने व्यक्तिलाई पनि भल्ब निःशुल्क उपलब्ध गराउँदै आएको छ । मुटुको भल्बमा उमेरको छेकबार लाग्दैन । त्योबाहेक अरू कारणले बिग्रेको छ भने सरकारले सहयोग गर्दैन । यस्तै बाइपास अपरेसनमा पनि सरकारी सुविधा छैन ।

विश्वमा बर्सेनि एक करोड ८० लाख मानिस मुटुरोगका कारण मर्ने गरेका विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ । संगठनले सन् २०३० सम्ममा मुटुरोगबाट विश्वभर मर्नेको सङ्ख्या बर्सेनि दुई करोड ५० लाख पुग्ने अनुमान गरेको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार नेपालमा अहिले झण्डै ७५ लाख मुटुरोगी छन् । ‘मन लगाउँ, मुटु बचाउँ’ भन्ने नाराका साथ आज विश्व मुटु दिवस मनाइँदैछ ।

प्रकाशित : १३ आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६