काठमाण्डौ १७ मंसिर । देशमा कोभिड–१९ महामारी फैलिएर बन्दाबन्दी भएसँगै यस दरबार सङ्ग्रहालय बन्द भएको पाटन दरबार सङ्ग्रहालयमा सर्वसाधारणको चहलपहल बढेको छ ।यही मङ्सिर ८ गतेदेखि दरबार सङ्ग्रहालय इच्छुक सर्वसाधारणका लागि खुला भएसँगै चहलपहल बढेको हो । बिहान १० देखि दिउँसो ४ बजेसम्म मात्र सङ्ग्रहालय खुल्ने गरेको अधिकृत सुरेशमान लाखेले बताउनुभयो । उहाँले भन्नुभयो, पहिलो दिन २५ हुँदै शनिबार बिदाका दिन करिब १४० र अन्य दिन ७० को हाराहारीमा सङ्ग्रहालय अवलोकन गर्न आउने मानिसको सङ्ख्या बढ्दै गइरहेको छ ।
कोरोना महामारीपछि खुलेको दरबार सङ्ग्रहालयमा स्वदेशीका साथै विदेशी पर्यटक पनि भित्रिन थालिसकेको लाखेले जानकारी दिनुभयो । पाटन कष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा गएको शुक्रबार र शनिबार यस वर्षको कात्तिक नाच मञ्चन गरेसँगै दरबार सङ्ग्रहालयले पनि ती दिनबाट नाट्यकला महोत्सवको तस्बिरका साथै वृत्तचित्र प्रदर्शनी गरिरहेको छ । प्रदर्शनीमा करिब ३० वटा नृत्यका तस्बिर राखिनुका साथै २४ मिनेटको वृत्तचित्र पनि प्रदर्शनी भइरहेको संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो ।
यसका साथसाथै दरबार परिसरमा आजभोलि खुबै मानिसको चहलपहल बढेको देखिन्छ । देशमा कोरोना कहर आएसँगै गएको वर्षको चैत महिनाबाट पाटनमा मानिसको आवागमन शून्य नै भएको थियो । यस महिनादेखि देशभर चिसो बढेसँगै केही घण्टा घाम ताप्न पाटन दरबार परिसरमा आफूहरू भित्रिने गरेको स्थानीय वृद्धवृद्धाको भनाइ छ ।
गएको वर्ष पाटनमा यस समय थुप्रै स्वदेशीलगायत विदेशी पर्यटकको चहलपहलका कारण मङ्गलबजार क्षेत्रमा हिँड्नसमेत ठेलमठेल हुन्थ्यो । मन्दिर तथा पुरातात्विक महत्वका सम्पदाले पाटन दरबार क्षेत्र भरिएको छ । पाटनमा विभिन्न काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका सामग्री निर्माण हुन्छ । काठमाण्डौ उपत्यकाको प्रशिद्ध तीन सहरमध्ये पाटन सबैभन्दा पुरानो सहरको रूपमा परिचित छ ।
प्रतिक्रिया