कपिलवस्तु पुस ३ । सिद्धार्थ गौतम बुद्धका पिता शुद्धोदनको राज दरबारका झाडी हटाएर सुन्दर बनाउन लागिएको छ । कोरोनाका कारण महिनाँै बन्द भए पछि खुलेको तिलौराकोटमा साना बुट्यान, घाँस तथा झाडी सफाइ गरिएको छ । शुक्रवार सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गणको एक टोलीले दरबार परिसरमा भएको झाडी हटाएको थियो ।
‘दरबार क्षेत्रको उत्तरी र दक्षिणी तर्फ बोट बिरुवा बढेको कारणले कुरूप बन्दै गएको छ । यो भूमिमा भगवान् गौतमबद्धले जीवनको २९ वर्ष बिताएको ठाउँ समेत हो । उहाँको राजधानी पुरातात्त्विक स्थल प्राचीन कपिलवस्तु दरबार क्षेत्रलाई सुन्दर बनाउनका लागि विगत वर्ष देखि झाडी हटाउँदै आइएको छ । यस क्षेत्रलाई सुन्दर पार्कको रूपमा विकास गरिने छ । ’ लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेतेया (अवधेश कुमार त्रिपाठी)ले बताएका छन् ।
सरसफाइका लागि सशस्त्र प्रहरी नायव उपरीक्षक गोपाल श्रेष्ठको नेतृत्वमा ५५ जना सुरक्षाकर्मी परिचालन भएका थिए । बौद्ध स्थल सरसफाइ गर्न पाउँदा खुसी भएको सर सफाइमा जुटेका सुरक्षाकर्मीले बताए । कोरोनाका कारण लामो समय देखी बन्द रहेको तिलौराकोट खुले पछि आन्तरिक पर्यटक दैनिक रूपमा आउन समेत सुरु गरेका छन् । सरसफाइ पछि दरबार क्षेत्र पुन सुन्दर बन्ने र पर्यटकलाई उत्खनन गरिएको क्षेत्र अवलोकनमा सहज हुने कोषका तिलौराकोट साइट प्रमुख माधव प्रसाद आचार्यले बताएका छन् । तिलौराकोट विश्व सम्पदा सुचीमा सुचीकृत गर्न प्रस्तावित गरिएको स्थल समेत हो ।
प्रतिक्रिया