जीवनशैली

सिंगो परिवारको हत्याको कारण ८० लाख रकम



संखुवासभा, २२ भदौं । एकै परिवारका ६ जनाको हत्या भएको संखुवासभाको मादी नगरपालिका–१ उमलिङमा फरेन्सिक र कुकुरसहितको टोली घटना अनुसन्धानका लागि पुगेको छ । घटना अनुसन्धानका लागि संघीय प्रहरी इकाई धरानबाट यो टोली घटनास्थलमा पुगेको संखुवासभाका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले बताए । आइतबार राति परिवारका ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेज बहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको हत्या भएको छ ।

उक्त घटना प्रहरीले आज (मंगलबार) बिहानबाट मात्रै अनुसन्धान गर्ने भएको छ । सोमबार दिनभर प्रहरीले घटनास्थल सुरक्षित गरेको छ । शवहरु जहाँ जस्तो अवस्थामा छन् त्यस्तै छाडिएको छ ।

‘डगसहितको टोली आउने भएपछि हामीले शवहरु छोएका छैनौं । शव रहेका चारै स्थान सुरक्षित गरेर राखेका छौं । मानिसहरुलाई छेउछाउ जान दिएका छैनौं । के कसरी हत्या भएको छ भन्ने अहिले पनि हामीलाई थाहा छैन, धारिलो हतियार प्रहारबाट हो भन्ने देखिएको छ, विस्तृत आज मात्रै थाहा हुन्छ’, डीएसपी सुवेदीले भने । डग स्नाफिङ गर्ने र फरेन्सिक टोलीले चेकजाँच गरेपछि मात्रै आज शव उठाइने छ ।
पैसा लुट्न हत्या गरिएको शंका
प्रहरीले प्रारम्भिक सोधपुछपछि कार्की परिवारको हत्याको पछाडि आर्थिक कारण हुनसक्ने शंका गरेको छ । कार्की परिवारले झापामा ८० लाख रुपैयाँको जग्गा किनेको र पास गर्ने समय भएकाले उनीहरुसँग भएको रकम लुटानका लागि हत्या भएको आशंका गरिएको छ ।
‘आर्थिक कुराहरु पनि सुनिएको छ । तर अहिले नै यहि भन्ने अवस्था छैन । अब अनुसन्धानसँगै सबै कुरा खुल्दै जालान्’, डीएसपी सुवेदीले भने ।

तेजबहाहदुरका दुवै छोरा विदेशमा छन् । जेठो रमेश मलेसियामा र कान्छो नरेश दुबईमा छन् । कान्छाका भने श्रीमती र छोरा पनि झापामै बस्छन् । जेठाका भने श्रीमती र छोराछोरीको पनि हत्या भएको छ । घरमा भएकामध्ये भने ९० वर्षीय बृद्ध बौद्धमान कार्की मात्रै जोगिएका छन् । बौद्धमानकी श्रीमती ८४ वर्षीया पार्वती कार्कीको पनि हत्या भएको छ । उनको शव घरभित्रै फेला परेको हो ।

५२ वर्षीय तेजबहादुरको शव घर नजिकै सडकमा भेटिएको छ । तेजबहादुरकी श्रीमती ५२ वर्षीया कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना (रमेशकी श्रीमती) को शव घर नजिकै रहेको खोल्सामा फेला परेको छ । रमेश र रन्जनाका ११ वर्षीय छोरा दिपेन र ७ वर्षीया छोरी गोमाको शव घर माथि मकै बारीमा फेला परेको छ ।

लाशको प्रकृति हेर्दा लखेटी लखेटी हत्या गरेको प्रहरीको अनुमान छ । राति परिवारका सबै सदस्यको हत्या भए पनि ९० वर्षीय वृद्धले भने केही थाहा नपाएको बताएका छन् । बौद्धमान राम्रोसँग कान सुन्न र आँखा राम्रोसँग देख्दैनन् । घटना बारे छिमेकीले इलाका प्रहरी कार्यालय चैनपुरमा सोमबार बिहान ९ः ४० बजे खबर गरेका थिए । शव देखेपछि उनीहरुले हत्या भएको थाहा पाएका थिए

प्रकाशित : २२ भाद्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६