प्रदेश

आइतबार रातिदेखिको अविरल वर्षाका कारण ठुलो क्षति बुधबार सम्म थप बर्सा हुन सक्ने



धनगढी १ कार्तिक । आइतबार रातिदेखिको अविरल वर्षाका कारण कैलालीका किसानले ठुलो क्षति ब्यहोर्नु परेको छ । भित्र्याउने तयारी स्वरुप काटेको धानबाली डुबेको छ, भने भर्खर लगाएको हिउँदे तरकारी तथा तेलहनबालीसमेत नष्ट भएको छ ।

कैलालीका अधिकांश क्षेत्रमा यो सयम हिउँदे तरकारी आलु, काउली, बन्दा तथा हरियो साग लगाउने गरिन्छ । धेरै किसानले आलु, काउली तथा हरियो साग भर्खरै रोपेको हुँदा वर्षाले सबै नष्ट भएको छ । ‘चार कठ्ठा जमिनमा आलु गगाएको चार दिन मात्रै भयो,’ धनगढी उप–महानगरपालिका–३ का मुसेव खानले भने, ‘यस्तै २–३ कठ्ठा जमिनमा अरु तरकारी लगाएको थिए, वर्षाले सबै नष्ट भयो ।’ कैलालीको गौरीगंगा नगरपालिका–२ का किसान भीम साउदले पनि वर्षाका कारण हिउँदका लागि लगाएको तरकारी बाली नष्ट भएको बताए । ‘खेतमा लाही छरेको दुई दिन मात्रै भयो,’ उनले भने, ‘आलु पनि लगाएको थिएँ, सबै बिग्रियो ।’

आइतबारदेखिको वर्षाले कञ्चनपुरमा धानबाली डुबेको छ । खेतमा काटेर सुकाएको धान भित्र्याउन नपाउँदै नष्ट भएपछि किसानहरू चिन्तित बनेका छन् । वर्षाले कैलालीमा मात्रै सयौँ बिघा जमिनको धानखेती डुबेको छ । धानसँगै केरालगायतका अन्य बालीसमेत नष्ट भएको किसानहरूले दुखेसो गरेका छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटका राजकुमार चौधरीका अनुसार भर्खरै काटेको अढाई बिगाह जमिनको धान भिजेर नष्ट भएको छ । ‘यति ठुलो वर्षा हुन्छ भनेर कसले सोच्नु ?,’ उनले भने ।

तटिय क्षेत्रका नगरिकलाई सचेत रहन आग्रह
आइतबार रातिदेखि अविरल वर्षा भएपछि तटिय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय कैलालीले आग्रह गरेको छ । कैलालीको तराई क्षेत्रसँगै पहाडी क्षेत्रमा समेत निरन्तर वर्षा भइरहेका कारण खोला नालाका पानीको बहाव बढ्न सक्ने प्रहरीको चेतावनी छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सूचना जारी गर्दै प्रदेशको मध्य तथा चुरे तराई क्षेत्रमा भारी वर्षा मापन भएको र आगामी तीन दिनसम्म थप वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेकोले सतर्कता अपनाउन आग्रह गरेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखा काठमाडौँका अनुसार सुदूरपश्चिममा आगामी तीन दिनसम्म निरन्तर वर्षा हुने अनुमान छ । महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिमा मानन्धरका अनुसार सुदूरपशिचममा अहिले बंगालको खाडीबाट उत्पन्न न्यूनचापीय मनसुनी वायु र पश्चिमी वायु सक्रिय छ । जसका कारण प्रदेशभर वर्षा भइरहेको छ । यो प्रणाली आगामी तीन दिनसम्म सक्रिय रहने उनको भनाइ छ । ‘बिहीबारदेखि मौसममा सुधार आउने अनुमान छ,’ उनले भनिन्, ‘बुधबारसम्म सुदूरपश्चिमका सबै जिल्लामा वर्षासँगै हिमाली क्षेत्रमा हिमपात हुन सक्ने छ ।’

प्रकाशित : १ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६