दाङ, १८ भदौ
नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा उहाँहरुबीच नेपाल–इजरायल सम्बन्ध, शिक्षा, कृषि, प्रविधि, पर्यटन तथा सीप हस्तान्तरणका विषयमा छलफल भएको लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो । सो अवसरमा राजदूत बासले यही भदौ १० गते रसुवामा गएको बाढी तथा पहिरोका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद् पछिको अवस्थामा मनोसामाजिक परामर्शलगायतका क्षेत्रमा सहयोग गर्न सकिने बताउनुभयो । मुख्यमन्त्री आचार्यले नेपाल र इजरायलबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै शिक्षा र प्रविधिको क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले कृषि, शिक्षा र प्रविधिको क्षेत्रमा थप सहकार्य गर्न सकिने बताउनुभयो । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश कृषि, पर्यटन र शिक्षाका क्षेत्रमा अत्यधिक सम्भावना बोकेको प्रदेश भएकाले इजरायलसँगको सहकार्यलाई थप विस्तार गर्न प्रदेश सरकार इच्छुक रहेको बताउनुभयो । “विशेषगरी कृषि क्षेत्रमा इजरायलको प्रविधि, ज्ञान र सीपलाई प्रदेशका किसान तथा युवासम्म पु¥याउन सहकार्य गर्न सकिन्छ । कृषि क्षेत्रमा सञ्चालन हुँदै आएको ‘पढ्दै सिक्दै’ कार्यक्रममार्फत भइरहेको साझेदारीलाई थप प्रभावकारी बनाउन सकिन्छ”, राजदूत बासले भन्नुभयो । एघार महिनाको ‘पढ्दै सिक्दै’ कार्यक्रमलाई अझ विस्तार गर्न सकिने उहाँको भनाइ थियो । भेटमा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले प्रदेशको समग्र अवस्था तथा प्राथमिकताका विषयमा उहाँलाई जानकारी गराउनुभएको थियो ।










प्रतिक्रिया