देश

कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी



काठमाडौँ, १८ भदौः

भोटेकोशी बाढीले रसुवाको टिमुरेमा कार्यरत कमाण्डरसहितको सुरक्षाकर्मी गुमाउँदा पनि सशस्त्र प्रहरी बिचलित नभई आफ्नो कर्तब्यमा डटिरहेको छ । भदौ १० गतेको बाढीमा परी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टिमुरेमा कार्यरत रहेका सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्रीसहित नौ जना र त्रिशूली जलविद्युत् आयोजना सुरक्षा बेस मैलुङमा कार्यरत चार गरी १३ जना सशस्त्र प्रहरी कर्मचारी बेपत्ता भएका थिए । ड्युटीमा निस्किएका कमाण्डर खत्री र दोस्रो कमाण्डमा रहेका नायब निरीक्षक प्रकाश न्यौपानेसहितको टोली गुमाउँदा पनि सशस्त्र प्रहरी सहायक निरीक्षक तामबहादुर थापा मगरले तुरुन्त कमाण्ड सम्हाली आफ्नो फौज सुरक्षित गर्नुभएको थियो । बेपत्ता भएकामध्ये सशस्त्र प्रहरी जवान साजन कुँवरको शव पूर्वी नवलपरासीमा फेला परेको थियो भने अन्य सशस्त्र प्रहरी कर्मचारी अझै सम्पर्कबिहीन छन् । बाढी गएको झन्डै २४ घण्टासम्म सरकारी कार्यालयको नाममा सशस्त्र प्रहरी बलको बिओपी मात्र एक्लै थियो । जुन टोली करिब एक दिन हेडक्वार्टरको सम्पर्कमा थिएन । बिजुली र टेलिफोन अबरुद्ध, हेक्वार्टरसँगको सम्पर्क बिच्छेद तथा कमान्डर गुमाएको फौजले आफ्नो कर्तव्य भने चुपचाप पूरा गरिरह्यो । यही भदौ ११ गते धुन्चेबाट सो क्षेत्रमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी निरीक्षक सञ्जु खत्रीको कमाण्डमा थप टोली पठाइएको थियो । उनीहरूले हालसम्म उक्त क्षेत्रमा बेपत्ता भएका ९८ जनाको शव फेला पारेका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । सशस्त्र प्रहरीको उद्धार टोलीले भाद्र १२ गते साँझ टिमुरेमा माटोमुनि पुरिएको अवस्थामा छ वर्षीया बालिकालाई जीवितै उद्धार गर्न सफल भएको थियो । सो टोलीले बाढी आएको करिब ६० घण्टा पछि ती बालिका रोइरहेको आवाज सुनेपछि उनको उद्धार गरिएको हो । बाढीमा परी सम्पर्कविहीन भएकाको खोजीका लागि सशस्त्र प्रहरीले चारह जार २०० जनशक्ति परिचालन गरेको छ । बाढी प्रभावित धादिङको मलेखु र गल्छी, नुवाकोटको देविघाट, कोलोनी, रातमाटे, तारकेश्वर, बेत्रावाती र तारुका तथा रसुवाको त्रिशुली–३ ‘ए’, त्रिशुली–३ ‘बी’, स्याफ्रुबेशी र बोगटीटारमा १२ वटा वेश स्थापना गरी खोज तथा उद्धारलाई तीव्रता दिएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता थापा जस्तोसुकै चुनौतीपूर्ण समयमा पनि कत्ति पनि विचलित नभई सरकारले सुम्पेको जिम्मेवारीलाई दरिलो खम्बाका रुपमा उभिएर काम गर्दै आइरहेको बताउनुहुन्छ । गोरखा भूकम्प, कोरोना महामारी, सीमलताललगायत ठूला घटना, दुर्घटना तथा महामारीमा समेत सशस्त्र प्रहरीले उत्कृष्ट कार्य प्रदर्शन गर्दै आइरहेको छ । रसुवा बाढीलगत्तै सशस्त्रले टिमुरेदेखि पश्चिम नवलपरासीसम्म करिब ८०० जना बिशेष तालिम प्राप्त टोली उद्धारमा खटाएको छ । उद्धार, राहत र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नुवाकोटमा सात, रसुवामा चार र धादिङमा दुई गरी १३ स्थानमा विपद बेस स्थापना गरेको छ । विशेषज्ञ टोलीमा रहेको के९ ले १२, ड्रोन टिमले १९, स्वीफ्ट वाटर रेस्क्यु टिमले १२३ शव फेला पारेको छ । बिओपी टिमुरेले मात्र अन्य सुरक्षा निकायसँग सयुक्त रुपमा टिमुरे इलाकाबाट ९८ शव सङ्कलन गरेको छ । —

Powered By  Orson Infotech

प्रकाशित : १८ भाद्र २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६