प्रदेश

उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन



काठमाण्डौ, ०२ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट प्रभावित भएकाको तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । 

आज मङ्गलवार बिहान प्रधानमन्त्री देउवाले गृह मन्त्री बालकृष्ण खाणलाई यो निर्देशन दिनुभएको हो । त्यसपछि गृहमन्त्री खाणले विपद्को जोखिम कम गर्न र विपद्जन्य घटनाबाट मानिसको ज्यानको सुरक्षा गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । उहाँले उद्धार तथा राहत कार्यमा कुनै कमी हुन नदिइ काम गर्न सबै सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रीको निर्देशनसहित राहत तथा उद्धार कार्यका लागि मन्त्रालयबाट पूर्ण सहयोग रहने आश्वासन आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । 

सुरक्षा निकाय र प्रभावित जिल्लाका सम्बद्ध स्थानीय प्रशासनहरू विपद् व्यवस्थापन कार्यमा जुटेका छन् । विभिन्न जिल्लामा मानिसहरू फसेको क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धारको अनुरोध आएको र त्यही मागअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको प्राधिकरणका प्रमुख पोखरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार यही असोज ३१ गतेदेखि देशभर मौसम बदली भइ नेपालको पश्चिम क्षेत्र बढी प्रभावित बनाएको छ । सेती, महाकाली, कर्णाली, पश्चिम राप्तीलगायत ठूला र तिनका सहायक नदीमा बाढी आएको छ । 

विपद्का कारण डडेल्धुरा र कालीकोटमा एकरएक जनाको ज्यान गएको र एकरएक जना घाइते भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकामा दुई सय घर डुबानमा परेका छन् । त्यही क्षेत्रका बासिन्दाको उद्धार प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । 

महाकालीको बहाव उच्च रहेको र आसपासका क्षेत्रका जोखिम बस्तीका मानिसलाई सुरक्षित ठाउँमा सारिएको प्राधिकरणका प्रमुख पोखरेलले बताउनुभयो । बझाङको एक गाउँपालिकाको प्रहरी कार्यालय नै डुबानमा परेको र प्रहरी सुरक्षित ठाउँमा  सरेका जनाइएको छ ।

कर्णालीको बहाव बढेपछि बर्दियाका केही तटीय क्षेत्रका मानिस प्रभावित भएका छन् । प्राप्त विवरणअनुसार बेनी–मुस्ताङ, डोटीको भीमदत्त राजमार्ग, अछामको चौखुट्टे–अछाम–बाजुरा सडक खण्ड, बझाङको जयपृथ्वी राजमार्ग, बाजुराको मार्तडी–कोल्टी र साँफे–मार्तडी सडक बाढी, पहिरोका कारण बन्द भएको गृह मन्त्रालयले जनाएको छ । भोलि बुधवारसम्म नै वर्षाको सम्भावना रहेकाले सुरक्षित भएर बस्न मन्त्रालयले स्थानीय नागरिकमा अनुरोध गरेको छ ।  

विभिन्न क्षेत्रमा काटेर राखेको धान नै वर्षा र बाढीले डुबाएको छ । भित्रिने बेलाको धानमा क्षति पुगेपछि किसान नराम्ररी प्रभावित भएका छन् । 

अहिले बङ्गालको खाडी र मध्य भारतमा रहेका उत्तरतिर सर्दै गरेको न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ ।

आज पनि सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का केही ठाउँ, प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँ तथा वाग्मती प्रदेशका एकरदुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

प्रकाशित : २ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६