प्रदेश

वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै



काठमाण्डौ, २२ कार्तिक । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने तयारी छ । त्यसका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बन्नुभएका पाण्डेले विश्वासको मत लिन लाग्नुभएको हो ।

नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे गएको ११ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारसहित गठबन्धनका दलहरु सहभागी सरकारको आउँदो साझा कार्यक्रमहरु सार्वजनिक गर्ने बताउनुभएको छ ।

अहिले १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ सदस्य आवश्यक हुन्छ । प्रदेश सभामा एमालेको ४३ जना, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई,दुई जना तथा जनता समाजवादी पार्टी नेपालको एक जना प्रदेश सभाका सदस्य छन् ।

माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बनेका पाण्डेले प्रदेशका मन्त्रालय फुटाएर भागबण्डा मिलाउने तयारी गर्नु भएको छ । माओवादी र कांग्रेसले चार,चार मन्त्रालय र एकरएक राज्यमन्त्री मागेका छन् ।

प्रदेशमा मन्त्रालयको सङ्ख्या बढाएर १२ पुर्याउने र चार जना राज्यमन्त्री पनि नियुक्त गर्ने गरी सरकार विस्तारको तयारीमा गठबन्धन जुटेको छ ।

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६