काठमाडौँ, १९ भदौ
भोटेकोशी बाढीबाट प्रभावितमध्ये हालसम्म पाँच हजार ३८४ जनाको उपचार गरिएको छ । बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौँ मानिस प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावितमध्ये विभिन्न अस्पतालमा ३०४ जना उपचाररत छन् । यस्तै, नेपाली सेनामार्फत तीन हजार २०६ जना र सशस्त्र प्रहरी बल नेपालमार्फत एक हजार ८७४ जनाले स्वास्थ्योपचार सेवा पाएका छन् । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाढीपछि पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रबाट हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजारभन्दा बढी व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार गरिएका व्यक्तिलाई सुरक्षित स्थानमा राखेर आवश्यक स्वास्थ्योपचार, खाना तथा अन्य आधारभूत सेवा उपलब्ध गराउने कार्य भइरहेको छ । सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि सुरक्षा निकायसहित सम्बन्धित निकाय परिचालन छन् । यसैगरी, भोटेकोशी बाढीमा परी बिहीबार साँझसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासीपूर्व र नवलपरासीपश्चिममा गरी एक हजार २९० शव फेला परेका छन् । भारतमा फेलापरेका शवसमेत उक्त विवरणमा समावेश गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार फेलापरेका शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष रहेका छन् । त्यस्तै, ५३२ आंशिक अङ्गसहितका शव फेलापरेका छन् । उपचारका क्रममा अस्पतालमा मृत्यु भएका दुई जनाको विवरण पनि त्यसमा समावेश गरिएको छ । भोटेकोशी बाढीपछि ठूलो जनधनको क्षति भएको र धेरै नागरिक अझै सम्पर्कविहीन रहेकाले खोजी, उद्धार, उपचार तथा राहतको कामलाई थप तीव्र पारिएको छ । प्रभावित क्षेत्रमा तत्कालीन राहतसँगै विस्थापितको उद्धार गरिएकाको तत्कालीन व्यवस्थापन र बेपत्ताको खोजी अहिले मुख्य प्राथमिकतामा छ ।










प्रतिक्रिया