प्रदेश

नेपाल हस्तकला महासङ्घ ५० औँ वर्षमा प्रवेश




काठमाण्डौ, २९ मंसिर । नेपाल हस्तकला महासङ्घ ५० औँ वर्षमा प्रवेश गरेको छ । महासङ्घले स्वर्ण महोत्सव वर्षभरि विभिन्न प्रवर्द्धनमूलक कार्यक्रम आयोजना गरी मनाउने घोषणा गरेको छ ।
हिजो मङ्गलवार काठमाण्डौमा आयोजित स्वर्ण महोत्सवको घोषणा, १० औँ हस्तकला दिवस तथा हस्तकला वर्ष सन् २०२१ को समापन कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले महासङ्घको स्वर्ण महोत्सव शुभारम्भ भएको घोषणा गर्नुभयो । उहाँले निर्यात व्यापार, रोजगारी सिर्जना, गरिबी निवारणका साथै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान कायम गर्न सफल हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उपराष्ट्रपति पुनले सबै सरकारी निकायलाई स्वदेशी हस्तकलाका सामग्री प्रयोग गर्न आग्रहसमेत गर्नुभयो । नेपाली हस्तकलाले व्यापार घाटा न्यूनीकरणमा समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल सर्वोच्च शिखर सगरमाथा, गौतम बुद्धको नामले विश्वभर चिनिँदै आएको छ, यसमा हस्तकलासमेत थपिएको छ । नेपाली हस्तकलाले नेपाली कला, संस्कृतिको संरक्षण संवर्द्धनमा समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ जुन हाम्रा लागि गौरवको कुरा हो ।’

नेपाल हस्तकला महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोरोनाबाट थलिएको हस्तकला व्यवसायलाई पुनर्जीवन दिन तीन वटै तहका सरकारको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । महासङ्घले स्वर्ण वर्षभरि हस्तकला व्यवसाय प्रवर्द्धनका लागि गोष्ठी सेमिनार गर्ने, व्यापार मेला प्रदर्शनी आयोजना गर्ने, वस्तु विकास, सीप विकास, डिजाइन विकास र सीप हस्तान्तरणसम्बन्धी तालिम सञ्चालन गर्ने, हस्तकलाको सरकारसँग बहस पैरवी गर्न आवश्यक नीति तर्जुमा तथा अनुसन्धानमूलक कार्यक्रम गर्ने, हुलाक टिकट प्रकाशन गर्ने, स्वर्ण सिक्का निष्कासन गर्ने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै हस्तकलाले खेलेको भूमिकाबारे निबन्ध प्रतियोगिता आयोजना गर्ने, महासङ्घका पूर्वपदाधिकारी तथा सदस्यलाई क्रमशः सम्मान गर्दै जाने, वृक्षारोपणका कार्यक्रम सञ्चालन गर्ने, हेरिटेज वाक कार्यक्रम आयोजना गर्ने र स्वर्ण वर्षभरि प्रयोग गर्ने गरी लोगो अङ्कित मफलर बनाइने पनि अध्यक्ष शाक्यले बताउनुभयो ।

हस्तकला महासङ्घका उपाध्यक्ष तथा हस्तकला वर्षका संयोजक रवीन्द्र शाक्यले हस्तकलाको विकास र विस्तारका लागि सबैभन्दा पहिले हस्तकला नीति तर्जुमा गरिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा महासङ्घका संस्थापक अध्यक्ष सागर समशेर राणा, महासङ्घका संस्थापक सदस्य मोतिलाल सिल्पकारका साथै उत्कृष्ट निर्यातकर्ता एभरेष्ट फेसनका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठ, सुनिता शेर्पा, नरेश लाल श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो ।

महासङ्घका अध्यक्ष शाक्यका अनुसार ४९ औँ वर्षको यात्रामा महासङ्घले हस्तकला क्षेत्रको दिगो विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । हस्तकलाको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि सरकारको सहयोगमा अमेरिकाको न्यूयोर्कमा प्रोडक्ट अफ नेपाल ९पोन० नामक कम्पनी स्थापना र सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो । समान उद्देश्यका अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग भातृत्वपूर्ण सम्बन्ध विकास गर्ने क्रममा महासङ्घले विश्व कला परिषद् ९वर्ल्ड क्राफ्ट काउन्सिल० को सन् १९९० मा सदस्यता लिइ परिषदबाट सञ्चालन हुने कार्यक्रममा निरन्तर सहभागिता जनाउँदै आएको छ । परिषद्को एसिया प्रशान्त क्षेत्रको सम्मेलन महासङ्घले काठमाण्डौमा आयोजना गरेको थियो । महासङ्घका अनुसार सङ्गठनलाई देशव्यापी बनाउन हस्तकला सङ्घलाई २०६३ सालमा नेपाल हस्तकला महासङ्घमा परिणत गरिएको थियो । अहिले १७ जिल्ला सङ्घ, १२ वस्तुगत सङ्घ, फर्म, कम्पनी, उद्योग, कलाकार, कालीगढ गरी चार हजार सदस्यमध्ये एक हजार सात सय क्रियाशील सदस्य रहेका छन् ।

प्रकाशित : २९ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६