काठमाडौँ ३ पुस— ज्यूँदो सालकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा कालिञ्चोक गाउँपालिका–६ घर भई काठमाडौं महानगर–३२ मरुछासपाखा बस्ने २६ वर्षीय उद्धव थामी छन् ।
काठमाडौं मरुछासपाखा क्षेत्रमा प्रतिबन्धित दुर्लभ ज्युँदो सालक अवैध रुपमा बिक्री वितरण गर्न लागेको भन्ने सूचनाको आधारमा बिहीबार महानगरीय अपराध महाशाखा मिनभवनको टोलीले सालकसहित थामीलाई पक्राउ गरेको हो ।
थामीले ३ केजी तौल भएको सालक १ करोड १० लाख रुपैयाँमा बिक्रीका लागि ल्याएको खुलेको महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए ।
उक्त सालकसहित थामीलाई शुक्रबार जिल्ला वन कार्यालय हात्तिसार पठाइएको छ । दुर्लभ वन्यजन्तुको रुपमा रहेको सालकको आखेटोपहार चोरी तस्करीको क्रम बढ्दो छ । सालक संरक्षणका अभियान गरिँदैआए पनि तस्करीका घटना दोहोरिने गरेका छन् ।
प्रतिक्रिया