काठमाडौँ ६ पुस— कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार महिलातर्फ खुला केन्द्रीय सदस्यमा डिला संग्रौलाले सर्वाधिक मतसहित जितेकी छन् । उनले दुई हजार ८८५ मत पाएकी छिन् ।त्यस्तै, पुष्पा भुसालले दुई हजार ७१८, आरजु राणाले दुई हजार ५३६, अम्बिका बस्नेतले दुई हजार ३३९, इश्वरी न्यौपानेले दुई हजार २५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइराला पौडेलले एक हजार ८५८, सुशीला ढकाल आचार्यले एक हजार ८०४ र रंगमती शाहीले एक हजार ७८९ मतसहित विजयी भएका छन् ।
निर्वाचितमध्ये प्रसाईंबाहेक सबै शेरबहादुर देउवा समूहका हुन् । प्रसाई भने शेखर कोइराला समूहकी उम्मेदवार हुन् ।निर्वाचितमध्ये संग्रौला, भुसाल, बस्नेत, न्यौपाने, प्रसाईं र कोइराला पौडेल यसअघि नै केन्द्रीय सदस्य थिए ।ढकाल, राणा र शाही पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् । तेस्रो धेरै मतसहित निर्वाचित राणा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन् भने शाही हुम्लाबाट प्रतिनिधिसभा सदस्य छिन् ।९ पदका लागि ३० जनाले उम्मेदवारी दिएकामध्ये राष्ट्रिय सभामा कांग्रेसकी सचेतक समेत रहेकी सांसद अनिता देवकोटासहित २१ जना पराजित भएका छन् ।
६ पुस २०७८, मंगलबार
प्रतिक्रिया