कपिलवस्तु ७ पुस । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनको सरकार जति समय रहन्छ मुलुकले दुर्भाग्य मात्रै बेहोर्नु पर्ने उदघोष गर्नुभएको छ । एमाले कपिलबस्तुले आज आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो ठोकुवा गर्नुभएको हो ।
एमालेले देशको हितमा गरेको कामबाट अत्ताल्लिएर यो गठबन्धन बनेको हो, यो गठबन्धन सरकार जति समय रहन्छ, मुलुकले दुर्भाग्य मात्रै बेहोर्नुपर्छ,’ महासचिव पोखरेलले भन्नुभयो । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कामलाई रोक्नकै लागि गठबन्धन लागेको र गठबन्धनले मुलुकको अहित मात्रै गरिरहेको बताउनु भयो ।
‘एमालेलाई जनादेशबाट होइन, परमादेशबाट सरकारबाट बाहिर पुर्याइएको हो, जनादेश त एमालेकै पक्षमा रहेको थियो, छ भोलि पनि रहन्छ,’ पोखरेलले भन्नुभयो, ‘चुच्चे नक्सा जारी भएपछि गठबन्धन बनाएर एमालेको सरकार हटाउने काम गरे । गठबन्धन बनाएर मुद्धा मामिला गरेर अदालतबाट एमालेलाई सत्ताबाट हटाउने काम भयो,’ महासचिव पोखरेलको भनाई थियो । उहाँले ओली सरकारकै कारण तराई मधेशको मुहार फेरिएको तथ्यसमेत राख्नुभयो ।
प्रतिक्रिया