प्रदेश

हस्तान्तरण नहुँदै भत्कियो घोराहीको चार लेन सडक



दाङ, ७ पुस। दाङ घोराहीको कटुवा खोलादेखि नेत्रलाल अभागी चोकसम्मको चार लेन सडक निर्माण सम्पन्न भएर सरकारलाई हस्तान्तरण नहुँदै भत्किन थालेको छ ।
सडकखण्डका बिभिन्न ठाउँमा खल्डाखुल्डी परेका छन् । ट्राफिक चोक छेउमा सबैभन्दा धेरै भत्किएको छ ।

डेढ किलोमिटरको उक्त सडकखण्ड चार लेनमा विस्तार गर्न कान्छाराम शंकरमाली जेभीसँग ०७१ भदौ ११ गते सम्झौता भएको थियो । निर्माण कार्य ०७५ साल असोज ३० गते सम्पन्न भएको थियो । तर तर निर्माणसम्पन्न भएको ६ वर्ष बितिसक्दा पनि उक्त सडकखण्ड हस्तान्तरण हुन सकेको छैन ।

खल्डाखुल्डी परेको सडक मर्मत गर्न भन्दै निर्माण कम्पनीलाई सडक विभागले पटक(पटक पत्राचार गर्दै आएको छ । तर निर्माण कम्पनीले अटेर गरिरहेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी अमिर सुवेदीले बताए । ‘सडक हस्तान्तरण नहुँदै भत्किएको अवस्थामा निर्माण कम्पनीले नै सडक मर्मत सम्भार गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘सडक मर्मत गर्न भनेर पटक(पटक पत्राचार गरिरहेका छौं तर कम्पनीले अटेर गरिरहेको छ ।’

निर्माण कम्पनीले सम्झौता अनुरुपको गुणस्तरीय सामग्री प्रयोग नगरेकाले सडक भत्किएको र भत्किएको सडक पनि मर्मत नगरेकाले हस्तान्तरण नभएको सुवेदीको भनाइ छ ।

निर्माण कम्पनीले सम्झौता भएको चार वर्षपछिमात्र चार लेन सडक कालोपत्रे गर्न शुरु गरेको थियो । कालोपत्रे नहुँदा धुलो र हिलोले स्थानीय आजित भए । यही सडकको दुरावस्थालाई लिएर जिल्लाका नेताहरुको समेत आलोचना भयो ।

तर ढिलो गरी निर्माण गरिएको सडकमा पनि सम्झौता अनुरुपका सामग्री प्रयोग नभएपछि सडक विभागले उक्त सडक हस्तान्तरण गर्न मानेको छैन । सडक डिभिजन कार्यालयका दाङका अनुसार सम्झौतामा उक्त सडकको दायाँ(बायाँ रेलिङ र सडकमा १५ वटा ह्युमपाइप राख्नुपर्ने थियो । तर ह्युमपाइपको संख्या घटाएर रेलिङविना नै सडक तयार गरियो । स्थानीयले घर र पसल अगाडि रेलिङ राख्ने कामको विरोध गरेकाले रेलिङ नराखिएको निर्माण कम्पनीको भनाइ छ ।

‘ठेक्का सम्झौता अनुरुप सामग्रीहरु राख्न नसकिएपछि त्यसलाई परिमार्जन गर्नुपर्ने भन्दै सडक विभागलाई भेरिएसन पत्र पठायौं,’ सडक डिभिजन कार्यालयका सूचना अधिकारी सुवेदीले भने, ‘तर विभागले हालसम्म उक्त पत्र स्विकृत गरेको छैन ।’

पूरा भुक्तानी पाए मर्मत हुन्छः शर्मा

निर्माण कम्पनीका प्रतिनिधि पदमप्रसाद शर्माले ठेक्काको कूल ११ करोडमध्ये हालसम्म आठ करोडमात्र भुक्तानी पाएको बताए । पूरा भुक्तानी पाए सडक मर्मत पनि गर्ने उनले बताए ।

‘काम सम्पन्न भइसकेको छ तर पूरा भुक्तानी पाएको छैन,’ शर्माले भने, ‘निर्माण कार्य सम्पन्न भएर सडक हस्तान्तरणका लागि पठाएको भेरिएसन पत्र तीन वर्षदेखि अड्किएको छ ।’ उनले राज्यबाट पाउनुपर्ने भुक्तानी पाएलगत्तै भत्किएको सडक मर्मत सम्भार सुरु गर्ने प्रतिवद्धता जनाए ।

साभार

प्रकाशित : ७ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६