प्रदेश

चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न अर्थमन्त्रीसँग निजी क्षेत्रको माग



काठमाडौं, १२ पुस । मंगलबार बिहानै नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका निजी क्षेत्रले अपरान्ह उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको टोलीले अर्थमन्त्री पौडेललाई भेट्दै चालु पूँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न माग गरेका छन् । महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ गरेको महासंघले जनाएको छ । अध्यक्ष गोल्छाले अर्थतन्त्रको विद्यमान समस्या समाधानका लागि महासंघका तर्फबाट सुझाव पेश गरेका छन् ।

अध्यक्ष गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रूपमा चालु पूँजी कर्जा मार्गदर्शन रहेको बताए । उनले यसलाई कम्तीमा दुुई वर्ष स्थगन गर्न तथा तरलता व्यवस्थापन र व्याजदर स्थायित्वका लागि केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुुझाव दिएको समेत महासंघले जनाएको छ । मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा पनि अध्यक्ष गोल्छाको भनाइ छ ।

अर्थतन्त्रमा बहुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षा मार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र बैंकिङ समस्याका कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न आग्रह गरेको समेत महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष गोल्छाले अर्थ मन्त्रीबाट अर्थतन्त्रको संवेदनशीलता बुझेर सोही अनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले गरेको बताए । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको, मुल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रनै अहिले संकुचित हुदै गएको समेत उनले बताएका थिए ।

नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री पौडेलले निजी क्षेत्रका मागप्रति सरकार गम्भीर रहेको बताए । सरकार निजी क्षेत्र बीचको सम्बन्ध अन्योन्याश्रित रहेको उनको भनाइ छ । निजी क्षेत्रको मनोबल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ भन्दै उनले मनोबल उच्च बनाएर काम गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताए । सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्रालयका सचिवद्वयको समेत उपस्थिति थियो ।

प्रकाशित : १२ पुस २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६