प्रदेश

आउँदो ३ दिन अत्यधिक चिसो बढ्ने, बिहानको समयमा सकेसम्म बाहिर ननिस्किन सुझाव




काठमाण्डौ, १७ पुस । आउँदो तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन् ।

विज्ञहरूले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकूल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् । केही दिनयता देशभर बाक्लो हुस्सु लाग्दा चिसोमा उत्तारचढाव भइरहेको छ । आउँदो तीन दिनसम्म देशका धेरैजसो ठाउँमा शीतलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरूको सुझाव छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताउनुभयो । उहाँले आज (आइतवार) देखि तीन दिनसम्म देशको धेरैजसो भागमा शीतलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो । अबका केही दिन चिसो अत्यधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, मुटुका रोगीहरूले बिहानको समयमा घरबाहिर ननिस्किन उहाँको सुझाव छ ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय एकपछि अर्को पश्चिमी वायुका कारण चिसो बढेको छ । आजदेखि तीन दिनसम्म देशको धेरैजसो भागमा लगभग शीतलहरकै अवस्था रहन्छ । चिसो अझै बढ्नेछ । अरब सागरमा न्यून चापीय अवस्थाका कारण आद्रतासहितको हावा बहेर उत्तरतिर धकेलिँदा त्यसले तुँवालोको फर्मिसन गर्छ । पश्चिम बङ्गालमा पनि केही समयअघि मात्रै न्युन चापीय अवस्था सिर्जना भएको थियो । पश्चिमी वायुको प्रभाव परेका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपातको अवस्था बढेको छ ।’

जलवायु विज्ञ उप्रेतीले ‘मर्निङ वाकु मा सकेसम्म चिसोको बेलामा नजाने, सकेसम्म कोठामा नै योगाभ्यास गर्नुपर्ने बताउनुभयो ।’ उहाँले फोक्सोको क्यान्सर भएका, श्वासप्रश्वासमा समस्या भएका, मुटुका बिरामी, बालबालिका र वृद्धवृद्धामा चिसोको असर बढी हुने बताउनुभयो । उप्रेतीले जनवरी, फ्रेब्रुअरी र मार्चमा न्यूनतम तापक्रम औसतभन्दा तल हुने र वर्षा पनि कम हुने बताउनु भयो । हिउँदामा वर्षा कम र चिसो बढी भएको खण्डमा यसको सबैभन्दा बढी असर वायु प्रदूषणमा पर्ने उहाँको भनाइ छ ।

विज्ञ उप्रेतीले अहिले समुद्री सतहको तापक्रम औसतभन्दा कम रहेकाले चिसो बढिरहेको बताउनुभयो । उहाँले न्यूनतम तापक्रम घट्दै जाँदा चिसो र शीतलहर बढाउने भएकाले जनवरी ४ सम्म देशको पश्चिमी भागमा यसको असर पर्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो । तापक्रममा हुने परिवर्तन र वायुमण्डलमा हुने परिवर्तनका कारण विश्वको तापक्रमलाई असर गर्ने भन्दै नेपालले पनि चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु जरुरी रहेको उहाँले बताउनुभयो ।

हिउँद महिनामा पानी नपर्दा वायुमण्डलमा प्रदूषण बढ्ने उप्रेतीले बताउनुभयो । गएको वर्षको यो सिजनमा पानी परिसकेको भए पनि यस वर्ष भने पानी नपरेकाले झनै समस्या सिर्जना हुनसक्ने उहाँको भनाइ छ । उहाँले मौसम अनुकूल नहुँदा पश्चिम तराईका केही जिल्लामा चिसोका कारण बिरामी बढेका र आउँदा दिनमा काठमाण्डौसहित पहाडी जिल्लामा समेत यसको प्रभाव देखिने बताउनुभयो ।

डा। उप्रेतीले देशभर चिसो बढेकाले बिहानको समयमा बाहिर भरसक हिँडडुल गर्न वा घरभित्रै व्यायाम गर्न, न्यानो लुगा लगाउन, पानीमा धेरै बेर नभिज्न, बिहान बहिर हिँड्नै परे मास्कको प्रयोग गर्न सुझाव दिनुभएको छ । यस्तै झ्यालरढोका खोलेर वा पर्याप्त हावा ओहोरदोहोर हुनेगरी मात्र आगो वा हिटर ताप्न, गाडी चलाउँदा गति सीमित हुनेगरी चलाउन र फोग लाइटको प्रयोग गने, विद्यालयमा केही दिन बिदा वा प्रविधिको प्रयोग गरी सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्न उहाँको सुझाव छ ।

प्रकाशित : १७ पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६