कृषि

स्याङ्जाको एकै वडाबाट १४ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री




स्याङ्जा, १३ माघ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ ।

व्यावसायिकरुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैँले बिक्री गरेर १४ करोड रुपैयाँसम्म आम्दानी गरेका हुन् । जिल्लामा धेरै क्षेत्रफलमा सुन्तला खेती गर्ने किसान १० नम्बर वडामा रहेका सुन्तला सुपरजोन स्याङ्जाका पूर्वसचिवसमेत रहनुभएका मुक्ति अधिकारीले जानकारी दिनुभयो ।

वडामा सुन्तला खेतीलाई व्यावसायिक बनाउने किसान धेरै हुनुहुन्छ, उहाँहरुले न्यूनतम ५० हजारदेखि अधिकतम ५० लाख रुपैयाँसम्म आम्दानी गर्नुहुन्छ, उहाँले भन्नुभयो ।

पाँच–सात लाखदेखि १५–२० लाख रुपैयाँ आम्दानी गर्ने किसानको सङ्ख्या धेरै छ । किसानले बगैँचा नै ठेक्कामा दिने वा आफैँ टिपेर ठेकेदारलाई प्रतिकेजीका दरले बिक्री गर्दछन् । कोदो तथा मकै खेतीबाट जीविकोपार्जन गरिरहेका किसानले अहिले व्यावसायिक रुपमा सुन्तला खेती गरेर बर्सेनि लाखौँ भित्र्याइरहेका छन् । सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानहरुले नयाँ बोट थप्नेका छन् । अबका केही वर्षमा उत्पादनसँगै आम्दानीमा पनि वृद्धि हुने उहाँको भनाइ छ ।

गएको वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन बढे पनि बजार मूल्य गएको वर्षको जति पनि नहुँदा अपेक्षा अनुसारको आम्दानी लिन नसकिएको किसानहरु बताउँछन् । प्रतिकेजी ५५ रुपैयाँबाट बिक्री सुरु भएको सुन्तला अहिले प्रतिकेजी ९० मा रुपैयाँमा बिक्री भइरहेको छ ।

अपेक्षाअनुसार बजार मूल्य नपाएपछि शीतभण्डार गरेर बिक्री थालिएको थियो । तर व्यवस्थापकीय कमजोरीका कारण शीतभण्डारमा सुन्तला कुहिएपछि किसानहरु थप मर्कामा परेका छन् । स्याङ्जा यस वर्ष एक अर्ब २५ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र स्याङ्जाले जनाएको छ । रासस

प्रकाशित : १३ माघ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६