काठमाडौँ, १ मङ्सिर
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटका क्रममा मन्त्री श्रेष्ठले राजदूत दलेलालाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन ऊर्जा तथा जलस्रोतका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । भेटमा भूमिगत जलस्रोतको पुनर्भरणसम्बन्धी अध्ययन तथा अनुसन्धानमा दुई देशबीच सहकार्य गर्ने विषयामा छलफलमा भएको थियो । त्यस्तै, अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तारको सम्भावना, निर्माणाधीन परियोजनालाई निर्धारित समयमै सम्पन्न गर्ने तथा विद्युत् निर्यातको सीमा बढाउन आवश्यक सहजीकरण गर्ने विषयमा पनि विचार विमर्श भएको थियो । यसैगरी, उहाँहरुबीच नेपालमा सौर्य ऊर्जाको विकास र विस्तारका लागि भारतीय पक्षसँग सहकार्य गर्ने सम्भावनाबारे समेत छलफल भएको थियो । भेटमा दुवै पक्षले ऊर्जा तथा जलस्रोतका क्षेत्रमा आपसी सहकार्यलाई थप प्रभावकारी बनाउँदै द्विपक्षीय हितका आयोजनालाई गति दिनुपर्नेमा जोड दिएका थिए । –––









प्रतिक्रिया