ब्रेकिंग न्युज

निर्मला कुर्मीको हत्यामा छानबिन गर्न विशेष टोली खटाइने



काठमाण्डौ, ०२ फागुन ।बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा हत्यासम्बन्धी जाहेरीमा अनुसन्धान गरेर दोषीमाथि मुद्दा चलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार निर्देशन दिएपछि माइतीघरमा ४८ दिनदेखि जारी आन्दोलन स्थगित भएको छ।कुर्मीलाई न्याय दिलाउन आन्दोलन गर्दै आएकी अभियन्ता रूबी खानले मंगलबार साँझ माइतीघर पुगेर सरकारसँग भएको सहमतिबारे जानकारी दिएकी थिइन्।माइतीघर मण्डलमा लालटिन बालेर धर्ना दिँदै तेस्रो चरणको आन्दोलन चलेको थियो। रूबी खानले उक्त लालटिन निभाउँदै हाललाई आन्दोलन स्थगनको घोषणा गरिन् र भनिन्, ‘अहिलेलाई हामी लालटिन निभाउँछौं र पुनः जलाउनु नपरोस् भन्ने विश्वास राखेका छौं।’

प्रधानमन्त्री दाहालले मंगलबार बिहान कुर्मीको न्यायका लागि आन्दोलनरत पक्षसँग वार्ता गरेका थिए। गृहसचिव विनोदप्रकाश सिंह र प्रहरी महानिरीक्षक धिरजप्रताप शाहसमेत सहभागी उक्त वार्तामा तीनबुँदे सहमति भएको छ।सहमतिअनुसार कुर्मीको अपहरण, शरीर बन्धक तथा हत्यासम्बन्धी जाहेरीमा अनुसन्धान गर्न विशेष अनुसन्धान टोली गठन गरिने भएको छ। उक्त टोलीले घटनाको विस्तृत अनुसन्धान गरी दोषीउपर मुद्दा चलाउने सहमतिको पहिलो बुँदामा उल्लेख छ।

सहमतिको दोस्रो बुँदामा आन्दोलनरत पक्षले अनुसन्धान प्रक्रियाको समीक्षा गर्ने गरी न्यायिक जाँचबुझ आयोगको माग यथावत् राख्दै हाललाई तेस्रो चरणको आन्दोलन स्थगित गर्ने भनिएको छ।त्यस्तै, तेस्रो बुँदामा आन्दोलनरत पक्षका व्यक्तिको जीउज्यान सुरक्षाका लागि उचित समन्वय र प्रबन्ध गर्ने उल्लेख छ।सहमतिमा आन्दोलनरत पक्षबाट रूबी खानले हस्ताक्षर गरेकी छन् भने सरकार तर्फबाट गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले हस्ताक्षर गरेका छन्।यसअघि पनि निर्मला कुर्मीको अपहरण तथा हत्या प्रकरणमा छानबिन हुने भनेर सरकारले भनेपछि नेपालगन्जदेखि काठमाडौं आएर आन्दोलन गरेका अभियन्ता फर्केका थिए। तर सहमतिविपरीत सरकारले दोषीमाथि मुद्दा चलाउन नखोजेपछि अभियन्ताहरू फेरि काठमाडौं आएका थिए।

प्रकाशित : २ फाल्गुन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६