गुल्मी, २५ फागुन । आगामी चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि गुल्मीमा वामपन्थी विद्यार्थीहरूले गठबन्धन गरेका छन् । सत्ता गठबन्धन विपरीत नेकपा एमाले, माओवादी केन्द्र र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका विद्यार्थीहरूले वामपन्थी गठबन्धन गरेपछि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ झस्किएको छ । ६ बुँदे सहमति सहित संयुक्त विज्ञप्ति जारी गर्दै विज्ञप्तिमा भनिएको छ ।एमाले पार्टी सचिव गणेश श्रीपाली र माओवादी केन्द्रका पार्टी सचिव अशोक थापा मुक्ति, अनेरास्वविष्युका अध्यक्ष शोभाखर गिरी, अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष राजन पोखरेल र अखिल क्रान्तिकारी संयोजक राज खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा जिल्लाका सबै क्याम्पसहरूमा संयुक्त वामपन्थी प्यानल बनाई निर्वाचनमा होमिने निर्णय भएको उल्लेख छ ।
जिल्लाको ११ वटा क्याम्पस मध्ये अनेरास्ववियुले सदरमुकामको रेसुङ्गा क्याम्पस, रुद्रावती क्याम्पस, मानका टिकाराम क्याम्पस , सत्यवती क्याम्पस , रुरु क्याम्पस, दिगाम क्याम्पस सहित ६ वटामा नेतृत्व लिने निर्णय भएको छ । त्यस्तै अनेरास्ववियु क्रान्तिकारीले धुर्कोट क्याम्पस, जनज्योति क्याम्पस , चन्द्रकोट क्याम्पस र रुरु क्याम्पस सहित चार वटा क्याम्पसमा नेतृत्व लिने निर्णय भएकोअनेरास्ववियुकाअध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।
त्यस्तै श्रृङ्गेश्वर क्याम्पसमा स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने सहमति भएको छ । नेतृत्व लिने क्याम्पसमा विपरीत संगठनले स्वतः सचिव पद पाउने निर्णय भएकोअनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष राजन पोखरेले बताए ।देशभरमै सन्देश दिने गरी वामपन्थी एकता गरिएको एमाले सचिव गणेश श्रीपालीको भनाई छ । गुल्मीमा वामपन्थी जनधार बढिरहेकाले जनभावना अनुसार एकता गरिएको माओवादी केन्द्रका सचिव अशोक थापाको धारणा छ ।
२६ फाल्गुन २०७९, शुक्रबार
प्रतिक्रिया