कपिलवस्तु ४ असार ।शनिबार रातिको बाढीपहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा पाँच जनाको ज्यान गएको छ भने २८ जना बेपत्ता छन् । तीनै जिल्लामा दर्जनौं घर क्षतिग्रस्त भएका छन् । सडक, पुललगायतका संरचना बग्दा यातायात सम्पर्क प्रभावित भएको छ । निर्माणाधीन र निर्माण सकिएका १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।
बाढीपहिरोमा परी पाँचथरमा दुई तथा संखुवासभा र ताप्लेजुङमा एक–एक जनाको मृत्यु भएको छ । यस्तै, धनकुटाको छथर जोरपाटी–४ तेलियास्थित तमोर नदी किनारमा आइतबार साँझ एक महिलाको शव फेला परेको छ, जसको सनाखत हुन सकेको छैन । संखुवासभामा २१, पाँचथरमा ४ र ताप्लेजुङमा ३ जना बेपत्ता छन् ।
संखुवासभामा हेवा खोलाको बाढीले पाँचखपन नगरपालिका–९ का सन्तोष राईको ज्यान लिएको छ । चैनपुर नगरपालिका–४ मा निर्माणाधीन ६ मेगावाटको सुपर हेवा हाइड्रोपावरका १८ जना सम्पर्कविहीन छन् । खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भन्ने आइतबार अबेरसम्म यकिन हुन नसकेको संखुवासभाका प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए । उनका अनुसार उक्त हाइड्रोपावरको संरचना पूर्ण रूपमा क्षतिग्रस्त छ । हाइड्रोपावरमा कार्यरत राजेश श्रेष्ठ, टीकाराम थारू र दीपकराज थारू घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
चैनपुर–४ र पाँचखपन–९ मा गएको पहिरोले खोला थुनिएपछि बाढीले जनधनको क्षति गरेको हो । बाढीले पाँचखपन र चैनपुर जोड्ने मोटरेबल पुल पनि बगाएको छ । पूर्वाधार विकास कार्यालयले गत वर्ष मात्र उक्त पुल बनाइसकेको थियो । खोला किनार आसपासका ८ घर बगेको छ । बाढीले निर्माण सामग्री, ढुवानी र सवारीसाधन पनि बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खेतीयोग्य जमिन बालुवा र हिलोले पुरिएको छ । सभापोखरीमा २ र नुनढाकीमा १ जना बेपत्ता छन् ।
प्रतिक्रिया