देश

हामी ‘भवतु सर्व मङ्गलम्’ र ‘वसुधैव कुटुम्बकम्’ मा विश्वास गर्छौँ: प्रधानमन्त्री प्रचण्ड



काठमाण्डौ, १४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्तिको खोज सधैँ मानवताको सर्वोच्च आकाङ्क्षा भएको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई आज मङ्गलवार गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डले देशको परिवर्तन र रूपान्तरणका लागि सङ्घर्षको नेतृत्व गर्ने नेताका रूपमा आफूले शान्ति र द्वन्द्वको मूल्य बुझेको उल्लेख गर्नुभयो ।

उहाँले नेपालले शान्ति प्रक्रियालाई सफलतापूर्वक अघि बढाएको अवगत गराउँदै भन्नुभयो, ‘हाम्रो शान्ति प्रक्रिया समान परिस्थितिको सामना गरिरहेका देश र समाजका लागि राम्रो उदाहरण हुनसक्छ भन्ने हाम्रो विश्वास छ ।’ अहिले आफूहरू शान्ति प्रक्रिया–सङ्क्रमणकालीन न्याय प्रणालीको बाँकी काम टुङ्ग्याउनमा संलग्न रहेको उल्लेख गर्दै उहाँले आफ्नो अन्तिम उद्देश्य देशमा दिगो शान्ति र सद्भाव सुनिश्चित गर्नुरहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘अहिले हामी जहाँ उभिरहेका छौँ, भगवान् बुद्धको जन्मस्थल, बुद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मात्र होइन, शान्ति र सद्भावको केन्द्र हो जसले मानवजातिको शाश्वत र प्रबुद्ध शिक्षाको आधारमा व्यापक रूपमा प्रेरणा र मार्गदर्शन गरिरहन्छ ।’

प्रचण्डले महासचिव गुटेरेसको लुम्बिनी भ्रमणको विशेष महत्त्व रहेको र यसले विश्वव्यापी रूपमा समान मूल्यको संरक्षण र प्रवर्द्धन गर्न खोज्ने संयुक्त राष्ट्र सङ्घको बडापत्रबीच रहेको सहजीवन सम्बन्धलाई सुदृढ पार्ने धारणा व्यक्त गर्नुभयो । उहाँले गुटेरेसको विश्वव्यापी महत्त्वको ऐतिहासिकस्थलको भ्रमणको प्रशंसासमेत गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले लुम्बिनीको विकासमा संयुक्त राष्ट्र सङ्घ लामो समयदेखि संलग्न रहेको उल्लेख गर्दै सन् १९७२ मा जापानी वास्तुकार केन्जो टाङ्गेद्वारा यूएनडीपीको सहयोगमा गुरुयोजना तयार भएको बताउनुभयो । त्यही बेलादेखि संयुक्त राष्ट्र सङ्घले शान्ति र सद्भावको प्रवर्द्धन, तीर्थ र पर्यटनको एक प्रमुख केन्द्रको रूपमा लुम्बिनीको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उहाँको भनाइ थियो । सन् १९९७ मा संयुक्त राष्ट्र सङ्घले लुम्बिनीलाई विश्व सम्पदा क्षेत्र घोषणा गर्दै यसको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई विश्वव्यापी मञ्चमा मान्यता दिएको थियो ।

‘शान्ति, सद्भाव र करुणा हाम्रा जन्मजात गुण हुन् जुन हामीले शान्तिका धर्मदूत र नेपालका प्रबुद्ध पुत्र बुद्धबाट पाएका छौ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘विविधतामा एकता नै हाम्रो शक्ति हो र सद्भाव र सहअस्तित्व नै हाम्रो संस्कृतिको आवश्यक तत्त्व हो । हामी ‘‘भवतु सर्व मङ्गलम्’’ र ‘‘वसुधैव कुटुम्बकम्’’ मा विश्वास गर्छौँ ।’ उहाँले पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्र सङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्य मान्यताले नेपालको परराष्ट्र नीतिलाई निरन्तरता दिइरहेको बताउनुभयो ।

‘सौहार्दता र भ्रातृत्व हाम्रा अन्तर्राष्ट्रिय संलग्नताका आधारभूत विशेषता हुन् । हामी संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर बहुपक्षीयताप्रतिको हाम्रो प्रतिबद्धतामा अडिग छौँ’, उहाँले भन्नुभयो । त्यसैगरी उहाँले हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जीवनमा जलवायु परिवर्तनको प्रभावप्रति विश्वव्यापी ध्यानाकर्षण गर्ने महासचिव गुटेरेसको प्रतिबद्धताको प्रशंसा गर्नुभयो ।

‘तपाईँको हिजो खुम्बु क्षेत्रको भ्रमण र आज बिहान अन्नपूर्ण आधार शिविरको भ्रमणको क्रममा तपाईँले जलवायु परिवर्तनले हाम्रा नागरिकको जीवन र जीविकोपार्जनमा कस्तो असर पारेको छ भन्ने नियाल्नुभएको छ । कार्बन उत्सर्जनमा हाम्रो हिस्सा शून्य भए पनि जलवायु परिवर्तनको असर हामीले भोगिरहेका छौँ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘हामीले विश्वभर शान्ति कायम हुन दिनुपर्छ, शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने अधिकार सबैका लागि सबै परिस्थितिमा सबैले कायम राख्नुपर्छ ।’

विश्व शान्ति र सुरक्षा सुनिश्चित गर्न सबै प्रकारका असमानता, अन्याय, शोषण, वञ्चितता र गरिबीको अन्त्य गरिनुपर्ने प्रधानमन्त्री प्रचण्डको जोड थियो ।

प्रकाशित : १४ कार्तिक २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६