काठमाडौं २१ कार्तिक् । प्रमुख राजनीतिक दलले गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि प्रतिवद्ध भएको बताएका छन् । सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरुपमा जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको निष्कर्षसमेत निकालेको छ ।बैठकपछि माओवादी केन्द्रीकी उपाध्यक्ष पम्फा भुसालले शान्ति र संविधानमाथिको प्रहारलाई मिलेर प्रतिवाद गर्ने निचोड निस्किएको बताइन् ।
‘यदाकदा पानीको फोकाजस्तो छिटफुट देखापरेका प्रहारविरुद्ध मिलेर प्रतिवाद गर्ने सर्वसम्मत निष्कर्ष निस्कियो । जीवनभरी लडेका परिवर्तन गरेका नेताहरू गणतन्त्रको रक्षा गर्नेमा प्रतिवद्ध छौं ।’उनले राजनीतिक परिवर्तनको सापेक्षतामा जनता सन्तुष्ट भने नभएको अहिलेको परिवेशमा दल, सरकारी निकाय र सरोकारवाला बसेर वर्तमान आर्थिक चित्र प्रस्तुत गरी निष्कर्षमा पुर्याउने गरी योजना बनाउन प्रधानमन्त्रीले प्रतिवद्धता जनाएको बताइन् ।एमाले सचेतक महेश बर्तौलाले पार्टीले सरकारका अकर्मण्यताले छाडातन्त्र मौलाएको, गृहप्रशासन कमजोर भएको विषयमा ध्यानाकर्षण गराएको जानकारी गराए ।‘शान्ति, संविधान र व्यवस्था भड्काउने जनतामा निराशा जगाउने प्रवृत्तिबारे ध्यानाकर्षण गरायौं । जनस्तर र सामाजिक सञ्जालबाट भ्रामक टिकाटिप्पणी गराउने खेती भइरहेको छ । यसबारे गम्भीर बन्न प्रधानमन्त्रीलाई भनेका छौं’, बर्तौलाले भने ।
२१ कार्तिक २०८०, मंगलबार
प्रतिक्रिया