प्रदेश

रुपन्देही प्रहरीद्वारा ११ दिनमा २३ वटा चोरीका मोटरसाइकल बरामद



भैरहवा, १३ पौष । रुपन्देही प्रहरीले चोरी नियन्त्रण तथा न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गरी ११ दिनकै अवधिमा २३ वटा मोटरसाइल बरामद गरेको छ । नेपालबाट भारत र भारतबाट नेपालतर्फ चोरीका मोटरसाइकल किनेर चलाउने गरेको पाइएपछि नियन्त्रणका लागि प्रहरीले अभियान चलाएको हो ।

प्रहरीले मोटसाइकल चोरीमा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । यसअवधिमा रोयल इनफिल्ड २, बजाज पल्सर १५० बाईक १, हिरो स्पेलेन्डर प्लेस ६, बजाज पल्सर २२० बाईक ३, यामाहा एफजेड १ गरी विभिन्न ब्राण्ड र मोडलका २३ वटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस्तै २ वटा कारसमेत बरामद गरेको छ ।

रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले चोरीका मोटरसाइकल नियन्त्रणका लागि शंकाष्पद व्यक्तिको घरमै पुग्ने गरेको बताए । चोरीको मोटरसाइकल चेकजाँचमा मात्र नभई सूचनाको आधारमा चोरी भएका मोटसाइकल राखिएको घरमा पुगेर मोटरसाइकल र व्यक्ति नियन्त्रणमा लिइने बताए । जिल्लामा कमजोर तथा बलियो आर्थिक हैसियत भएका परिवारका युवा समेत चोरीका मोटरसाइकल चढ्ने गरेको उनले बताए ।

‘चोरीको सामान किन्ने पनि पक्राउ पर्छन । अपराधको परिभाषाले के भन्छ भने उद्योग गर्ने, प्रोत्साहन गर्ने र मतियार बन्ने सबै पर्छन् ।’( विकले भने । सवारीसाधनका कागजात हेरेर मात्र खरिद गर्न उनले आग्रह गरे । जिल्लामा हुन सक्ने चोरी(डकैती, लुटपाटका घटना, लागूऔषध दुर्व्यशन नियन्त्रण तथा न्यूनीकरण र फैसला कार्यान्वयन क्रममा फरार प्रतिवादी पक्राउका लागि पुस १ गतेदेखि ‘क्लिन स्वीप अपरेशन’ सञ्चालन गरिएको एसपी वि क ले जानकारी दिए ।

प्रहरीले अभियान अन्तरगत लागूऔषधतर्फ ७ वटा र मोटरसाइकल चोरीतर्फ ४ वटा मुद्दा दर्ता गरिएको जनाएको छ । लागूऔषधको कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

एसपी विकका अनुसार यस अवधिमा अदालतको फैसला कार्यान्वयनका क्रममा १०२ जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिहरुलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ । उनीहरुबाट १९ वर्ष ११ महिना १७ दिन कैद भुक्तान र १२ लाख ८२ हजार ७ सय ११ रुपैयाँ जरिवाना असुलउपर हुने प्रहरीले जनाएको छ ।

प्रकाशित : १३ पुस २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६