काठमाडौं, १४ पौष । प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संघीयता कार्यान्वयनमा गम्भीर बन्न आग्रह गरेका छन्। उनीहरूले प्रदेशको अधिकार सूचीका विषय हस्तान्तरण गर्न आग्रह गरेका हुन्।
बिहीबार र शुक्रबार बागमती प्रदेशका राजधानी हेटौँडामा भेला भएर संघीयता कार्यान्वयनमा संघ सरकार गम्भीर नबनेको निष्कर्ष निकालेका उनीहरूले शनिबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन्। भेटमा सुदूरपश्चिम बाहेक अन्य ६ प्रदेशका मुख्यमन्त्री सहभागी थिए।
प्रधानमन्त्रीलाई भेटेर हेटौँडा भेलाको निष्कर्ष सुनाएको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिए। यस क्रममा उनीहरूले हेटौँडा भेलामा तयार पारेको सात बुँदे ध्यानाकर्षण पत्र पनि प्रधानम्त्रीलाई बुझाए।
मुख्यमन्त्रीहरूको कुरा सुनेपछि प्रधानमन्त्रीले आफू संघीयताको पक्षमा रहेको बताउँदै प्रदेशका माग सम्बोधन गर्ने आश्वासन दिए। ‘विधेयकहरू प्रस्तुत भइसकेकाले शीर्ष राजनीतिक तहमा छलफल गरेर त्यसलाई टुङ्गो लगाउन थप पहल गर्ने उनले बताए।
प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन, सरकारी भवन तथा जग्गाको स्वामित्व हस्तान्तरण, साझा अधिकारका विषयका कानुन निर्माणमा सहकार्य, राष्ट्रिय वनलगायतका प्राकृतिक स्रोतको उपयोग एवं राजस्व बाँडफाँड र वित्तीय हस्तान्तरण लगायत कार्यान्वयनमा संघले बेवास्ता गरिरहेको मुख्यमन्त्रीहरूको आरोप छ। त्यसैका लागि दबाब दिन दुईदिने भेला गरी उनीहरू केन्द्रमा आएका हुन्।








प्रतिक्रिया