प्रदेश

दाङको राप्ती नदीमा र्‍याफ्टिङको सफल परीक्षण



दाङ, १५ पौष । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङ देउखुरीमा रहेको राप्ती नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि गरिएको परीक्षण सफल भएको छ । गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले गत शुक्रबारदेखि दुई दिनसम्म गरेको परीक्षण सफल भएको पालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए ।

‘राप्ती नदीको पानीमा पर्यटन व्यवसाय सञ्चालनका लागि र्‍याफ्टिङको सम्भाव्यता अध्ययन गरेका थियौं, प्राविधिकहरुले परीक्षण गर्दा र्‍याफ्टिङ सञ्चालन गर्न सकिन्छ भन्नुभएको छ’ पोख्रेलले भने ।

र्‍याफ्टिङ सञ्चालनको अध्ययन तथा परीक्षण कर्णाली र्‍याफ्टिङ एण्ड एण्डभेन्चर प्रालिका प्रबन्ध निर्देशक तथा सञ्चालक देवराज जैसी नेतृत्वको टोलीले गरेको थियो ।

नेपालका पश्चिमी भूभागमा पर्ने प्राय सबै नदीहरुमा र्‍याफ्टिङको अध्ययन गरी सञ्चालन समेत गरेका जैशीले राप्ती नदीको भालुबाङदेखि सिसहनिया पुलसम्म ९ महिनासम्मै र्‍याफ्टिङ सञ्चालन गर्न सकिने बताए ।

गढवा गाउँपालिका, राप्ती गाउँपालिका र शितगंगा नगरपालिकाको सिमाना भालुबाङको पुल्चोकदेखि सिसहनिया–महदेवा जोड्ने पुलसम्म राप्ती नदीको करिब १५ किलोमिटर क्षेत्रमा र्‍याफ्टिङ परीक्षण गरिएको थियो । जैसीले भने, ‘राप्ती नदीको बहाव, गहिराइ, साइड सिनलगायतका आधारमा भालुबाङको पुल्चोकदेखि महदेवा पुलसम्मको १५ किलोमिटर क्षेत्रमा ९–१० महिनासम्म र्‍याफ्टिङ चलाउन सकिन्छ ।’

परीक्षणको क्रममा लुम्बिनी प्रदेश सांसद इन्द्रजित चौधरी, गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट लगायतले र्‍याफ्टिङ चढेका थिए ।

कर्णाली र्‍याफ्टिङ एण्ड एण्डभेन्चर प्रालिले राप्ती नदी क्षेत्रको चकचके–बड्डाँडा, बड्डाँडा–भालुवाङ, भालुवाङ–सिसहनिया र सिसहनिया–लमहीसम्म र्‍याफ्टिङ सञ्चालनको अध्ययन गरिसकेको छ । आइतबार राप्ती नदीकै सिसहनिया–महदेवा पुलदेखि पश्चिम लमहीसम्मको क्षेत्रमा र्‍याफ्टिङ परीक्षण गरिने जैशीले बताए ।

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सी ९नारा० का केन्द्रीय सदस्य समेत रहेका पर्यटन व्यवसायी जैशीले कालीगण्डकीको मुस्ताङको चराङदेखि कागबेनीसम्म, माथिल्लो कर्णालीको सिमकोटदेखि खार्पुनाथसम्म, पश्चिम सेतीको बझाङको थलारादेखि चैनपुरसम्म र देउरा बजारदेखि चिसापानीसम्म, सानीभेरीको रुकुमकोटदेखि रिम्नासम्म, ठूलीभेरीको दुनैदेखि रिम्नासम्म र महाकाली नदीको डडेलधुराको परिगाउँदेखि कञ्चनपुरको बह्मदेवसम्म र्‍याफ्टिङको सफल परीक्षण गरेको बताउँछन् । लुम्बिनीका पूर्वमुख्यमन्त्री कुलबहादुर केसी सोनामको समन्वयमा राप्ती नदीमा पनि उनैले परीक्षण गरेका हुन् ।

उनले भने, ‘राप्तीमा हामीले गरेको अध्ययनमा वर्षायामको बेला पानीको सतह धेरै नै बढ्ने र नदी धमिलो पनि हुने भएकाले असहज भए पनि बाँकी पूरै ९–१० महिना जलयात्रा गर्न सम्भव छ,’ उनले भने, ‘चैत–वैशाखतिर पानीको सतह घट्ने भएकाले नदीलाई एकै धारमा बगाउने व्यवस्था गर्ने हो भने गज्जब हुन्छ ।’

गढवा गाउँपालिकाका अध्यक्ष पोख्रेलले राप्तीमा जलपर्यटनसँगै नदी किनारका आदिवासी जनजातीहरुबाट उत्पादित सामग्री तथा परिकारहरुको बजारीकरणको राम्रो सम्भावना रहेको बताए । र्‍याफ्टिङ व्यवसायिक रुपमा सञ्चालन गर्ने हो भने आयआर्जन बढाउन सकिन्छ,’ उनले भने, ‘यसतर्फ वृहत योजना निर्माण गरेर काम गर्नेछौं ।’

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आदिवासी जनजातीलाई जलपर्यटन व्यवसायमार्फत् आत्मनिर्भर बनाउने उद्देश्य रहेको भन्दै त्यसका लागि पालिकाले सहयोग गर्ने बताए ।

प्रकाशित : १५ पुस २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६