अन्तर्राष्ट्रिय

भारत बाहेक विश्वका ८५ देशका ७६ हजार पर्यटकले गरे लुम्बिनीको भ्रमण



लुम्बिनी १९ पुस । गएको सन् २०२३ मा विश्वका ८५ देशका ७६ हजार २ सय १० विदेशी पर्यटक र तीर्थयात्रीले शान्तिस्थल लुम्बिनीको भ्रमण गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसदेखि आध्यात्मिक गुरु मुरारीबापुसम्म लुम्बिनी पुगे ।छिमेकी मुलुक चीनमात्रै होइन, यहाँदेखि १७ हजार ७ सय ६५ किमि टाढाको चिलीसम्मका पर्यटक र तीर्थयात्री लुम्बिनी आएका छन् । सन् २०२३ मा चीनबाट ६ हजार १ सय १३ पर्यटक लुम्बिनी आएकामा चिलीबाट २६ जना आइपुगेका थिए । रुसी आक्रमणले तहसनहस भएको युक्रेनका ३४ पर्यटक पनि शान्तिको खोजी गर्दै लुम्बिनी आइपुगेका थिए ।

कोरोना महामारीपछि लुम्बिनीमा तेस्रो मुलुकका पर्यटकको आवागमन बढ्न सकेको थिएन । २०२२ मा ९६ मुलुकका २३ हजार ९ सय ९२ विदेशी पर्यटक यहाँ आएका थिए । गत वर्ष भ्रमण गर्ने मुलुकको संख्या घटे पनि पर्यटक संख्या भने उल्लेख्य मात्रामा बढेको छ । २०२१ मा ६८ मुलुकका १ हजार १ सय ९७ विदेशी पर्यटक मात्रै यहाँ आएका थिए ।

गत वर्ष इरानका ८० पर्यटक यहाँ आएकामा ४० जना ४५ दिने ध्यान शिविरमा सहभागी भई फर्किएका छन् । द्वन्द्वग्रस्त सुडानदेखि सिरिया, टर्कीसम्मका पर्यटक पनि यहाँ आएका छन् । लात्भिया, उरुग्वे, ग्वाटेमाला, क्युवा, इक्वेडर र घानाका पर्यटक यहाँ आएका थिए । लिबिया, लेबनान, क्यामरुन र बोस्निया हर्जगोभिनियाम्मका पर्यटक पनि यहाँ आएका थिए ।विदेशी पर्यटकमा सबैभन्दा बढी श्रीलंकाबाट १६ हजार १ सय ७२ जना यहाँ आएका थिए । त्यस्तै दोस्रोमा थाइल्याण्डबाट १५ हजार ७ सय २१ र तेस्रोमा भियतनामबाट १० हजार ४ सय १४ जना लुम्बिनी आएका थिए । म्यानमारबाट १० हजार ३ सय ७०, चीनबाट ६ हजार १ सय १३, दक्षिण कोरियाबाट ५ हजार ३ सय २, जर्मनीबाट २ हजार १ सय ५८ र इन्डोनेसियाबाट १ हजार १ सय ३४ पर्यटक यहाँ आएका थिए । फ्रान्सबाट १ हजार २ सय २०, नेदरल्यान्डबाट ९ सय ४२, इटलीबाट ८ सय २६, स्पेनबाट ४ सय ४८ र डेनमार्कबाट १ सय २ जना पर्यटक आएका छन् । त्यस्तै अस्ट्रेलियाबाट ८ सय ६५, जापानबाट ५ सय ६५, क्यानडाबाट ३ सय ६ र बेल्जियमबाट २ सय ५० पर्यटक यहाँ आएको लुम्बिनी विकास कोषले जनाएको छ ।

मुस्लिम समुदायको बाहुल्य रहेको इरान, सुडान, मलेसिया र टर्कीजस्ता मुलुकका पर्यटक बढ्नु राम्रो संकेत भएको पर्यटन व्यवसायी लीलामणी शर्माले बताए । ‘मान्छेलाई शान्ति अपरिहार्य रैछ,’ उनले भने, ‘लुम्बिनीको गरिमाकै परिणाम यत्तिको संख्यामा पर्यटक आएका हुन् भन्दा अत्युक्ति हुँदैन ।’

प्रकाशित : १९ पुस २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६