खोज–अनुसन्धान

प्रदेश गौरवको सरुवा रोग अस्पताल निर्माण आयोजना अलपत्र




जानु पाण्डे
कपिलवस्तु ३० फागुन ।प्रदेश गौरवको आयोजना प्रादेशिक सरुवा रोग अस्पताल निर्माण कार्य अलपत्र परेको छ । २०८१ साल फागुनसम्म सम्पन्न गर्ने लक्ष्य रहेको यो अस्पताल भवन निर्माणको काम सुरु नहुँदै रोकिएको हो ।आर्थिक वर्ष २०७७/७८ मा कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा ५० शैय्याको प्रादेशिक सरुवा रोग अस्पताल निर्माण गर्ने योजना बनेको थियो । भवन निर्माणका लागि ९.६२ बिघा वन क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गरिएको थियो । सो बराबरको जग्गा शोधभर्ना गर्ने इआइए प्रतिवेदनमा उल्लेख छ ।

जग्गा उपलब्ध नभएपछि सरकारलाई करिब दुई करोड ९३ लाख शोधभर्ना गर्नुपर्ने र यसका लागि प्रदेश सरकारले एक करोड रुपियाँ बजेट विनियोजन गरेको हो । बाँकी रकम उपलब्ध गराउन सङ्घीय सरकारसँग माग गरिएको प्रदेश स्वास्थ्य मन्त्रालयका दुर्गाप्रसाद पौडेलले बताउनुभयो । सो मन्त्रालयले बाँकी अपुग रकमको स्रोत सुनिश्चित गर्न प्रदेश अर्थ मन्त्रालयमा पत्र पठाएको छ ।अर्थ मन्त्रालयले जमानी बसी स्रोत सुनिश्चित गरिदिएमा निर्माणको काम सुरु हुने लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले बताउनुभयो । स्रोत सुनिश्चित नगर्दासम्म भवन निर्माणको काम सुरु नहुनु दुःखद भएको भनाइ उहाँको छ ।

सरकारले भवन निर्माणमा ढिलाइ गर्दा जनताले सास्ती पाएको प्रदेश सभा सदस्य केसीको गुनसो छ । तत्कालीन प्रदेश स्वास्थ्यमन्त्री विष्णु पन्थीले २०७९ साल चैत २९ गते भवनको शिलान्यास गर्नुभएको थियो । त्यस अवसरमा उहाँले सरुवा रोग अस्पताल प्रदेशकै गौरवको योजना भएकाले भवन निर्माण समयमा सम्पन्न गर्न निर्माण कम्पनी स्काई सगुन जेभीलाई निर्देशन दिनुभएको थियो । २०७८ फागुन १२ गते निर्माण कम्पनी जेभीसँग भवन निर्माणको सम्झौता भएको थियो ।निर्माण कम्पनी जेभीले २० करोड ९६ लाख तीन हजार रुपियाँको लागतमा निर्माण ठेक्का लिएको थियो । शिलान्यासपछि निर्माणको काम सुरु भएको भन्दै कपिलवस्तुका जनता उत्साहित भएका थिए तर योजना स्थलमा रहेका बुट्यान सफा गर्ने क्रममा वन कार्यालयले अवरोध गरेपछि प्रदेश गौरवको योजना अलपत्र परेको हो ।
तस्विर ः

प्रकाशित : ३० फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६