अर्थ-वाणिज्य

दिपेश पुनले बचतकर्ताले पैसा फिर्ता माग्न थालेपछि सचिवबाट राजिनामा दिएका थिए




बुटवल ४, चैत । सुप्रिम सहकारीका संस्थापक सचिव रहेका दिपेश पुनले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम फिर्ता माग्न थालेपछि राजिनामा दिएर उम्कने प्रयास गरेको खुलेको छ। लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको दर्ता प्रक्रियामा कैफियत देखाउँदै बुझाएको प्रारम्भिक प्रतिवेदनमा सहकारीका बचतकर्ताहरुले आफुहरुलाई जम्मा गरेको रकम चाहियो भन्दै सहकारीमा धर्ना दिन थाले पछि सहकारीका सचिव पुन संगै कोषाध्यक्ष सुरज श्रेष्ठले राजिनामा दिएका थिए।

सहकारीको रकम हिनामिना भएको समाचार सार्वजनिक भएपछि २०७९ मंसिर २४ गते सिमित ब्यक्तिहरुको साधारणसभा गरि पुन र श्रेष्ठले राजिनामा दिएको अभिलेखबाट देखिएको प्रतिवेदनमा उल्लेख छ।

सहकारी दर्ता रजिष्टारको कार्यालयले प्रतिवेदन बुझाएपछि रकम हिनामिना गर्नेहरुको खोजिमा रहेको रुपन्देही प्रहरीलाई प्रहरी प्रधान कार्यालयबाट खटिएको प्रहरी टोलीले दिपेश पुनलाई पक्राउ गरेर बुझाएपछि राहात मिलेको छ।

सहकारीले झण्डै सवा एक अर्व रुपैयाँ हिनामिना गरेको भन्दै बचतकर्ताहरुले उजुरी दिएपछि दर्ता अधिकारीको कार्यालयले छानविन थालेको थियो। दर्ता अधिकारी कार्यालयले प्रतिवेदन बुझाएपछि ईलाका प्रहरी कार्यालय बुटवलले सहकारीका अध्यक्ष र भैरहवा साखा कर्मचारीलाई नियन्त्रणमा लिए। यस लगत्तै सुप्रिम सहकारीमा राखेको रकमको प्रमाण सहित उजुरी दिन सार्वजनिक सुचना जारी गरेको थियो।

सहकारी दर्ता अधिकारीको कार्यालयले छानविन पछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा ०७२ सालमा सहकारी दर्ता गर्ने तत्कालिन सहकारी डिभिजन कार्यालय रुपन्देहीका निर्णयकर्ता कर्मचारीको कार्यमा कैफियत देखिएको भन्दै गम्भिर प्रश्न उठाएको छ।

सहकारी ऐनमा सहकारीका संचालक समितिका पदाधिकारीको नागरिकताको ठेगाना संस्थाको कार्यक्षेत्र भित्रको हुनुपर्ने वा कार्यक्षेत्र भित्र बसोबास गरेको परिचय खुल्ने बसाई सराई वा मतदातासूचीमा नाम हुनुपर्ने प्रावधान सहकारी ऐनमा भएपनि सुप्रिम सहकारी दर्ता गर्दा त्यसकिसिमका कागजात नराखेको प्रतिवेदनमा उल्लेख छ।

मैत्रैय सहकारीलाई सुप्रिम सहकारी बनाएर नाम परिवर्तन गर्दा उपाध्यक्ष बाहेक अन्य सबै रुपन्देही भन्दा बाहिरका पदाधिकारी तथा सदस्यको नाम तत्कालिन डिभिजन कार्यालय रुपन्देहीमा पेश गरिएको छ। सोही अनुसार सहकारी दर्ता गरेको भन्दै तत्कालिन संचालक समिति र सहकारी डिभिजन कार्यालयका तत्कालिन प्रमुखमाथी समेत प्रश्न उठाएको हो।

सहकारी दर्ता अधिकारी कार्यालयका प्रमुख यम बहादुर कुंवरले बुझाएको प्रतिवेदनमा सहकारी दर्ता गर्दा संचालक समितिका पदाधिकारीले पेश गरेको नागरिकताको ठेगाना कार्यक्षेत्र भन्दा बाहिर रहेको र कार्यक्षेत्रमा बसोबास प्रमाणित हुने बसाईसराई, मतदाता सूचि लगायतका कुनैपनि दस्तावेज समावेश नगरिएकोले सहकारी दर्ता गर्दा नै सहकारीको ऐन, नियम र सहकारीको मूल्य मान्यता विपरित गरिएको उल्लेख छ।

२०७२ साल चैत्र ८ गते सहकारी डिभिजन कार्यालयका तत्कालिन प्रमुखले दर्ता गरि बेलखु १ ओखलढुंगाका गितेन्द्रबाबु ९जिबि० राई अध्यक्ष रहेको संचालक समितिलाई सहकारी संचालनको अनुमति दिएका थिए। सहकारी दर्ता गर्दा उपाध्यक्ष ओमप्रकाश गुरुङ बाहेक सचिव राजु वराल, कोषाध्यक्ष दिपेश पुन र सदस्यहरु सुरज श्रेष्ठ, देवेन्द्रबाबु राई र भुपेन्द्र राई सबै कार्यक्षेत्र भन्दा बाहिरका थिए।

२०७२ सालमा सहकारी दर्ता गर्ने भन्दै डिभिजन सहकारी कार्यालय रुपन्देही पुगेको जिबि राई र दिपेश पुनको समुह सहकारी डिभिजन प्रमुख नेत्र घिमिरे मार्फत ओमप्रकाश गुरुङको सम्पर्कमा पुगेको थियो। गुरुङ २०५७ सालदेखि बुटवलमा संचालनमा रहेको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको संचालक थिए।

त्यतिबेला रुपन्देहीमा धेरै सहकारी संस्था दर्ता भएको भन्दै नयाँ सहकारी संस्थाको दर्ता प्रक्रिया रोकिएको थियो। उता न्यून सदस्य रहेको भन्दै मैत्रेय बचत तथा ऋण सहकारी संस्थालाई बन्द गर्न सहकारी डिभिजन कार्यालयले दवाव दिईरहेको थियो। सोहि बखत जिबि राई र दिपेश पुनको समुहले सहकारी दर्ताको दवाव दिएपछि घिमिरेले राई र पुनलाई गुरुङसँग भेट गर्न पठाएका थिए।

गुरुङसँगको भेटपछि सहकारी दर्ता गर्न आएको राई र पुनको समुह मैत्रेय सहकारीमा २०७२ साल माघ २५ गते सदस्य बनेका थिए। माया गुरुङ अध्यक्ष रहेको मैत्रेय सहकारीले राई र पुनसँगै राजु बराल, सुरज श्रेष्ठ, देवेन्द्रबाबु राई र भुपेन्द्र राईलाई सहकारीको सदस्यता दिएका थिए।

वहांहरु बुटवलमा नयां सहकारी दर्ता गर्न आउनु भएको रहेछ त्यो बेला सहकारी दर्ता बन्द भएको थियो चल्न नसकेर बन्द हुन लागेका सहकारीको लिष्ट जिल्ला सहकारी कार्यालयमा थियो त्यहीबाट राईहरु हामीलाई खोज्दै आउनु भएको हो। गुरुङले पक्राउ पर्नु अघि भनेका थिए।

माघ २५ गते सदस्य बनेका राई सहितको समुह र ओम प्रकाश गुरुङ समेतले फागुन १ गते सहकारीको विशेष साधारणसभा बोलाउन निवेदन दिएका थिए। सोहि निवेदनपछि फागुन ३० गते भएको विशेष साधारणसभाबाट मैत्रेय सहकारीको नाम संशोधन गरि सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनाईएको थियो।

नाम संशोधनसँगै बुटवलमा मात्र रहेको कार्यक्षेत्रलाई रुपन्देही जिल्लाभर कायम गरिएको थियो भने संचालक समिति समेत पुनर्गठन गरिएको थियो। पुनर्गठित संचालक समितिमा मैत्रेय सहकारीमा रहेका ओम प्रकाश गुरुङ बाहेक अन्य सबै पदाधिकारी र सदस्यहरु कार्यक्षेत्र बाहिरका राईको समुह थिए। जसलाई सहकारी डिभिजन कार्यालय रुपन्देहीले विनियम संशोधन गरेको थियो।

रुपन्देहीमा नयाँ सहकारी संस्थाको दर्ता रोकिएको अवस्थामा मैत्रेय सहकारीको सदस्य बनेको १ महिनाभित्रै राईको समुहले यसरी रुपन्देहीका बचतकर्ताहरुका बीचमा सुप्रिम सहकारीको जालो फिंजाउन शुरु गरेको थियो। २०७६ साल भदौ सम्म राई आफै अध्यक्ष रहे। राईले अध्यक्षबाट दिएको राजिनामा स्वीकृत गर्दै भदौ १४ गतेको साधारणसभाबाट गुरुङ अध्यक्ष बनेर राईलाई संरक्षक बनाईएको थियो।

गुरुङ अध्यक्ष बनेपछि २०७६ असोज १६ गते ३० जना मात्र सदस्य रहेको भैरहवाको जय अम्बे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सुप्रिमसँग एकिकरण गरिएको थियो। पुर्वाञ्चल विश्वविद्यालयका प्राज्ञिक संयोजक रहेका अनन्त बाबु राई, भरतपुरको स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष रहेका कृष्ण कुमार तामाङ र नेचरनेष्ट प्रालीका निर्देशक कुमार रम्तेललाई अतिथी बनाएर एकिकरण गरिएको थियो।

प्रकाशित : ४ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६