कपिलवस्तु, २२ चैत्र ।
प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा हनामी बीएफसी चितवन ३ गोल गर्दै फाईनलमा प्रवेश गरेको छ । चितवनले सुदूरपश्चिम –११ लाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
बाणगङ्गा स्थित बुद्ध रङ्गशालामा दिउसो साढे करिब सवा ४ बजे देखि सुरु भएको खेलमा हनामी बीएफसी चितवनले पहिलो हाफमा २ गोल गरेको थियो । त्यस्तै अग्रता कायम राख्दै पुनः दोस्रो हाफमा १ गोल गरेको हो । हनामी बीएफसीका विवेक गुरुङले पहिलो हाफमा १ गोल गरे । त्यस्तै विकास थापाले १ गोल थपे । विकास थापाले दोस्रो हाफमा हेडिङ मार्फत १ गोल गर्न सफल भए र हनामी बीएफसीले ३ गोल गरेको हो । यस विचमा सुदूरपश्चिम –११ ले महत्वपुर्ण गोल गर्न चुकेको थियो ।
सुदूरपश्चिमेली विभागीय टोली त्रिभुवन आर्मीलाई टाइ ब्रेरकरमा पराजित गरी सेमिफाइनलमा पुगेको टोली हो भने हनामी बीएफसीले ए डिभिजन क्लब मछिन्द्रलाई पराजित गरी सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो ।
मोफसलका टोली भए पनि विभागीय र ए डिभिजन क्लबलाई हराएको हुनाले यी दुई टोलीबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको थियो । यद्यपि सोचेजस्तो खेल हेर्न भने दर्शकले पाएनन् ।
गोल्डकपको उपाधिको लागि नेपाल पुलिस क्लब र हनामी बीएफसी विच चैत्र २४ गते खेल हुनेछ । पुलिसले उपाधिको प्रमुख दाबेदार टोली थ्री स्टार माथि १ शून्यको सङ्घर्षपूर्ण जित हासिल गरेको थियो ।
विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ हजार संगै ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख रुपैयाँ पाउने आयोजक कपिलवस्तु फुटबल संघले जनाएको छ ।
प्रतिक्रिया