बुटवल २ मंसिर, ।१६ मंसिरमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र एक वडाध्यक्ष पदमा हुने उपचुनावमा नेपाली कांग्रेस र एमालेले तालमेल गरेका छन् ।माओवादी केन्द्रको बलियो आधार क्षेत्र मानिने यहाँ सत्ता साझेदार दुई ठूला दलले तालमेल गरेका हुन् ।
दुई दलबीच भएको सहमतिअनुसार उपाध्यक्षमा एमालेले उम्मेदवारी दिएको छैन । बरु एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचनले कांग्रेस उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएकी छन् ।आइतबार उम्मेदवार मनोनयन गर्नुअघि दुई दलले लिखित सहमति गरी एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचन दुवै पार्टीको तर्फबाट साझा उम्मेदवार बनेकी छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस र एमाले उम्मेदवारभन्दा माओवादी उम्मेदवार भूपेन्द्रा बुढा मगरले दोब्बर मत ल्याएर विजयी भएकी थिइन् ।
भूपेन्द्रा बुढा ४ हजार ५९ मत ल्याएर निर्वाचित भएकी थिइन् भने कांग्रेसका कमलाकुमारी मल्लले २ हजार १० र एमालेका धर्म घर्ती बुढाले १ हजार ८ सय १२ मत प्राप्त गरेका थिए ।
पुथामा ११ हजार १ सय ८० मतदाता रहेका छन् । माओवादी केन्द्रबाट विजयी बुढाको असोजमा बागलुङमा भएको सवारी दुर्घटनामा परेर ज्यान गएपछि उपनिर्वाचन हुन लागेको हो ।
पालिका उपाध्यक्षसँगै पुथा उत्तरगंगाको वडा नं। २ मा एमालेकै जिल्ला कमिटी सदस्य जीवन रोकाले उम्मेदवारी दर्ता गरेका छन् । वडा नं। २ का माओवादीबाट निर्वाचित जसबहादुर श्रीपालीको मृत्यु भएपछि उपचुनाव हुन लागेको हो । गत निर्वाचनमा श्रीपालीले २३४ र कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत प्राप्त गरेका थिए ।
कांग्रेस जिल्ला सभापति केशरमान रोकाले दुवै दलले साझा उम्मेदवार बनाउने र साझा घोषणापत्रका आधारमा पालिका र वडाको चुनाव लड्ने सहमति अनुसार उम्मेदवारी दर्ता गरिएको बताए ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा कांग्रेसबाट निर्वाचित तिलकराम यादवको निधनपछि रिक्त वडाध्यक्ष पदमा १३ जनाले उम्मेदवारी दिएका छन् ।यहां नेपाली कांग्रेसले दिनेश यादवलाई उम्मेदवार बनाएको छ । यादव दिवंगत वडाध्यक्ष तिलकराममा छोरा हुन् ।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले मोहम्मद ताहिरलाई मनोनयन गराएको छ । माओवादी केन्द्रले रफिक अहमदलाई उठाएको छ । एमालेले अब्दुल मोजिम खाँलाई उम्मेदवार बनाउने पूर्वनिर्णय गरेपनि अन्तिम समयमा विवादमा परेपछि ताहिरलाई उठाएको हो ।
जनमत पार्टीबाट सीताराम पटेल, जसपा नेपालबाट रामबहादुर कुर्मी चौधरी, जसपाबाट रमेशकुमार पाण्डे, रास्वपाबाट अवधेश चौधरी, राप्रपाबाट इम्तियाज अहमद मुसलमान,नागरिक उन्मुक्ति पार्टीबाट सूर्यकुमार चौधरी थारु र नेकपा एकीकृत समाजवादीबाट सुब्बा थारुले उम्मेदवार बनेका छन् । यस्तै अब्दुल मोयिद मुसलमान, अब्दुल अब्बल फकिर, पुजारी थारु र सर्वजित मल्लाहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
गत निर्वाचनमा कांग्रेसका तिलकराम यादवले एमालेका अब्दुल मोजिब खाँलाई पराजित गर्दै दोस्रोपटक अध्यक्ष बनेका थिए । यादवले १ हजार ३२ मत पाउँदा एमालेका अब्दुल ८८९ मतमा रोकिएका थिए ।गुल्मीको मुसिकोट नगरपालिका(१ को वडाध्यक्ष पदमा ८ जनाको उम्मेदवारी परेको छ ।
कांग्रेसबाट आनन्द श्रेष्ठ, एमालेबाट दलबहादुर थापा र नेकपा माओवादी केन्द्रबाट दुर्गाबहादुर बिकको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट विकास थापाले वडाध्यक्षमा उम्मेद्बारी दिएका छन्, उनी विगतमा नेकपा एमालेमा थिए ।राप्रपाबाट ईश्वरी खातीले उम्मेदवारी दिएकी छन् । त्यस्तै कोमानन्द खरेल, कुलबहादुर थापा र योगेन्द्र खरेल स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
माओवादी केन्द्रका उम्मेदवार दुर्गा बहादुर बिकलाई नेकपा एकीकृत समावादीको समर्थन रहेको छ । निर्वाचन अधिकृत ऋषि घिमिरेका अनुसार वडामा ४ हजार ९१ मतदाता छन् ।
गत स्थानीय तहको निर्वाचनमा ३ हजार ८०८ मतदाता थिए । त्यतिबेला माओवादी केन्द्रको समर्थनमा नेपाली कांग्रेसबाट मोहन घिमिरेले ११८२ मत पाएर जितेका थिए । एमालेका नारायणबहादुर थापाले ११४३ मत ल्याएका थिए ।पूर्ववडाध्यक्ष मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएको थियो ।
२ मंसिर २०८१, आइतबार
प्रतिक्रिया