भाद्र १८, काठमाण्डौं
प्रधानमन्त्री ओलीले नेपालको भूभाग लिपुलेक नाकामार्फत सीमा व्यापार गर्नेसम्बन्धी भारत र चीनबीच हालै भएको समझदारीप्रति आपत्ति जनाउँदै उक्त समझदारी कार्यान्वयन नगर्न चीनका राष्ट्रपतिलाई अनुरोध गर्नुभएको सचिव राईले वाचन गर्नुभएको पे्रस नोटमा उल्लेख छ । चीनका राष्ट्रपति सीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने कार्यमा चीनको सहयोग रहने अभिव्यक्ति दिनुभएको थियो । साथै उहाँले चीनले संयुक्त राष्ट्रसङ्घ र शाङ्घाई सहयोग सङ्गठनलगायत बहुपक्षीय मञ्चहरूमा नेपालसँग सहकार्य गर्ने उल्लेख गर्नुभएको थियो ।
चीनका राष्ट्रपतिले एक चीन सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गर्दै दुई देशबीच सहमति भएका उच्च–गुणस्तरीय बिआरआई परियोजनाको कार्यान्वयनमार्फत नेपालको विकासमा चीनको निरन्तर सहयोग रहने कुरा दोहो¥याउनुभएको प्रेस नोटमा उल्लेख छ ।
प्रधानमन्त्री ओली भदौ १६ गते थियानजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन प्लस शिखर सम्मेलनमा सहभागी हुनुभएको थियो । उहाँले शाङ्घाई सहयोग सङ्गठनका सदस्य राष्ट्रहरू, पर्यवेक्षक राष्ट्र, संवाद साझेदारहरू तथा अन्य अतिथिसमेत गरी २४ मुलुकका राष्ट्र÷सरकार प्रमुखहरू उपस्थित शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले बहुपक्षीयताको सुदृढीकरण, क्षेत्रीय सहयोग प्रवद्र्धन तथा दिगो विकास हासिल गर्नेलगायत विषयमा विचारहरू प्रस्तुत गर्दै शाङ्घाई सहयोग सङ्गठनमा नेपालको आकाङ्क्षा संवाद साझेदार मात्र नभई पूर्ण सदस्यको रहेको धारणा व्यक्त गर्नुभएको थियो । उहाँले नियममा आधारित बहुपक्षीयताको भविष्य विस्तारित सम्पर्क सञ्जाल, परामर्श र सहकार्यमा आधारित हुनुपर्ने मार्गचित्र प्रस्तुत गर्नुभएको मन्त्रालयले जनाएको छ ।
शाङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तामा दुवै नेताहरूले नेपाल–रुस सम्बन्धलाई अझ सुदृढ तुल्याउने र व्यापार, लगानी, शिक्षा तथा संस्कृतिका साथै हवाई सम्पर्कका क्षेत्रमा परस्पर लाभदायक सहयोग प्रवद्र्धन गर्ने विषयमा छलफल गर्नुभएको थियो । साथै, सम्माननीय प्रधानमन्त्री ओलीले रुसी महासङ्घका राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुभएको थियो ।
यसैगरी, प्रधानमन्त्री ओली र लाओ जनवादी प्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति, समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री, कम्बोडिया अधिराज्यका प्रधानमन्त्रीसँग भएको छुट्टाछुट्टै भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा विचार–विमर्श भएको प्रेस नोटमा उल्लेख छ ।
थियानजिनमा रहँदा प्रधानमन्त्री ओलीले थियानजिन नगरपालिकाको हुयिगुआन गाउँमा रहेको धानको पकेट क्षेत्रको भ्रमण गर्नाका साथै थियानजिनको प्रसिद्ध सियाओझान धानको ऐतिहासिक विकास र आधुनिक युगमा यसलाई कसरी पुनर्जीवित गरियो भन्नेबारे जानकारी हासिल गर्नुभएको थियो । यसैगरी, उहाँले चाउ एनलाई र डेंग यिङ्चाओ स्मारक सङ्ग्रहालयको पनि भ्रमण गर्नुभएको थियो ।
थियानजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन शिखर सम्मेलनमा सहभागितापश्चात् प्रधानमन्त्री ओलीले बेइजिङको भ्रमण गरी बेइजिङमा चीनका उपराष्ट्रपति हान चङ्ग भदौ १७ गते द्विपक्षीय भेट गरी नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल गर्नुभएको थियो । यस्तै, प्रधानमन्त्री ओली भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजित ८०औँ विजयोत्सव तथा विशेष सैनिक परेडमा समारोहमा सहभागी हुनुभएको थियो ।
प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दलमा उहाँकी धर्मपत्नी राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपालका राजदूत डा कृष्णप्रसाद ओलीलगायत नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनुभएको थियो ।रासस








प्रतिक्रिया