जुम्ला, भाद्र २०,
पछिल्लो समयमा तरकारीखेतीबाट यहाँका महिला स्वरोजगार बन्दै गएका छन् । यहाँको तिला गाउँपालिका–८ स्थित जुम्लाकोट गाउँका महिला तरकारीखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।
केही वर्ष अगाडि तरकारीखेतीमा कुनै रुचि नराखेका यहाँका महिला अहिले विभिन्न प्रकारका सीपमूलक तालिमदेखि तरकारीखेती लगाउने प्रविधिकको ज्ञान प्राप्त भएपछि यहाँका महिला तरकारीखेतीतर्फ आकर्षित भएको स्थानीयवासी शोभा बस्नेतको भनाइ छ ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल जुम्लाले सञ्चालन गरेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना लागू भएदेखि गाउँका महिलाको आयआर्जनमा सुधार ल्याएको छ । स्थानीयवासी बस्नेतले भन्नुभयो, “गाउँमै जलवायु मैत्री कृषक पाठशाला स्थापना गरी तरकारीखेती गरेर गाउँकै महिला आत्मनिर्भर बनेका छन्, कृषक समूहमार्फत मौसमी तथा बेमौसमी तरकारीखेती गरेर गत आवमा रु एक लाख आम्दानी लिएका थियौँ ।”
तरकारीखेतीबाट स्वरोजगार बन्नुका साथै आम्दानी लिन सफल भएको उहाँले बताउनुभयो । यसले आर्थिक समस्या टार्न सहयोग मिलेको उहाँ बताउनुहुन्छ । अहिले विशेषगरी उत्पादन गरेको गोलभेँडा पालिकाको रारासेरी बजार, नाग्म र सदरमुकाम खलङ्गा बजारसम्म पुग्ने गरेको छ । अहिले गाउँमै गोलभेँडा प्रतिकिलो रु ४० मा बिक्री हुने गरेको छ । खनजोतलगायतमा प्रयोग हुने हाते ट्र्याक्टर परियोजनाबाट पाएपछि काम गर्न सहज भएको उक्त गाउँका स्थानीय लक्ष्मी रावतको भनाइ छ । जलवायु मैत्री कृषि प्रविधिबाट गड्यौल मल, गर्मी बास, छापो विधि, झोल मल, प्लाष्टिक हाउस, पानी पोखरी, कम्पोष्ट मल र बायोचारको प्रयोग गरेर तरकारीखेतीबारे परियोजनाले यहाँका कृषि समूहलाई तालिमदेखि प्रविधिक सिपमुलक तालिम दिएको किर्डाक जुम्लाका मल्यांकन तथा अनुगमन अधिकृत ललित डाँगीले बताउनुभयो ।
तरकारीखेतीलाई प्राथमिकता दिएका गाउँका कृषकलाई यातायातको राम्रो सुविधा नहुँदा समस्या भएको छ । उत्पादित तरकारी बजारसम्म ढुवानी गर्न समस्या भएको यहाँका स्थानीय बताउँछन् । रासस








प्रतिक्रिया