कपिलवस्तु, असोज ३
नेकपा (एमाले) का नेता डम्मर शर्माले संविधानको संरक्षण र बचाउने जिम्मेवारी केवल राजनीतिक दलको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा दायित्व भएको धारणा व्यक्त गर्नुभयो ।
संविधान दिवसको अवसरमा नेकपा (एमाले) बाणगंगा र नेपाली कांग्रेस बाणगंगा, संयुक्त रूपमा कपिलवस्तु उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेता शर्माले जेन जि पुस्ताका जायज मागप्रति आफूहरू गम्भीर रहेको बताउनुभयो । तर, उहाँले जेन जिको नाममा भएको घुसपैठ र विकृति–विसंगतिको कडा भर्त्सना गर्नुभयो ।
उहाँले संविधानलाई गतिशील दस्तावेजका रूपमा व्याख्या गर्दै जनचाहनाअनुसार राजनीतिक दलहरू अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । संविधानमाथि देशी–विदेशी शक्ति केन्द्रबाट भइरहेको आक्रमणप्रति सचेत रहनुपर्नेमा पनि उहाँले नेपाली जनतालाई आह्वान गर्नुभयो ।
सामाजिक परिवर्तनका मुद्दा जेन जि पुस्तामात्र होइन, सम्पूर्ण नेपाली जनताको साझा मुद्दा भएको उल्लेख गर्दै नेता शर्माले दलभित्रका कमजोरी सच्याउँदै जेन जि को भावना आत्मसात गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।








प्रतिक्रिया