जीवनशैली

कैलाली कारागारबाट निस्केका फोहोरले स्थानीयवासी समस्यामा



सुदूरपश्चिम, १९ पुस

धनगढी उपमहानगरपालिका–१ मा रहेको कैलाली जिल्ला कारागारबाट निस्कने ढलले वरिपरीको वातावरण दुर्गन्धित हुँदा स्थानीयवासी प्रभावित भएका छन् । कारागारभित्रबाट निस्कने शौचालयको फोहोरले कारागार वरिवरी दुर्गन्धित वातावरण भइरहेपनि फोहोरको उचित व्यवस्थापनमा ध्यान नदिइएको स्थानीयको गुनासो छ ।कारागार नजिकैको निजी खेतीयोग्य जग्गा ढलले भरिएपछि जग्गा धनी स्थानीय पार्वती खरेल खेती गर्नबाट बञ्चित हुनुभएको छ । उहाँले गुनासो गर्नुभयो, “कारागारको शौचालय र ढलबाट बग्ने फोहोर वर्षौँदेखि आफ्नो पाँच कट्ठा जग्गामा जमिरहन्छ, फोहोर जम्न थालेपछि न खेती गर्न सकिन्छ, दुर्गन्धले न नजिक जान सकिन्छ ।” उहाँले जग्गामा विगतमा धान, गहुँ, तरकारी खेती गरेर परिवार पाल्दै आउनुभएको थियो । स्थानीयवासी फोहोर जम्दा हुने दुर्गन्धित वातावरणले सास फेर्नै गाह्रो हुनेमात्र नभई झिँगा–लामखुट्टे बढेर रोगको सङ्क्रमणको डरमा बाँच्नुपरेको बताउँछन् । बालबालिका, वृद्ध र बिरामीका लागि यो वातावरण झनै जोखिमपूर्ण बनेको छ । कारागार नजिकको टोलका झण्डै एक दर्जन बढी परिवार दुर्गन्धले प्रभावित भइरहेका छन् । “वर्षातको मौसममा त यहाँ हिँड्नै सकिँदैन, ढल र सडकको पानी मिसिएर पूरै क्षेत्र दलदलजस्तै हुन्छ ।” अर्का स्थानीय प्रतिभा खरेलले भन्नुभयो । समस्या समाधानका लागि पार्वती खरेलले जिल्ला प्रशासन कार्यालय, जिल्ला कारागार, धनगढी उपमहानगरपालिका, वडा कार्यालयमा निवेदन दिनुभएपनि सुनुवाई गरिएको छैन । तीन वर्षअघि जिल्ला प्रशासनले समस्या समाधान गर्ने आश्वासन दिएपनि अहिलेसम्म कुनै ठोस काम हुननसकेको स्थानीयको गुनासो छ । फोहोर व्यवस्थापनको नीतिअनुसार धनगढी उपमहानगरपालिकाबाट घरायसी तथा सार्वजनिक फोहोर स्रोतदेखि नै छुट्याएर सङ्कलन गर्ने, कुहिने फोहोरबाट कम्पोस्ट र बायोग्याँस उत्पादन गर्ने, नकुहिने फोहोरको पुनःप्रयोग तथा बिक्री र खोलानाला, नदी तथा सार्वजनिक जलस्रोतमा फोहोर फाल्न प्रतिबन्ध लगाइएको छ । तर आफूहरुको टोलमा फोहोरको उचित व्यवस्थापन नहुँदा फोहोरी वातावरणमै बस्नु परेको स्थानीय बताउँछन् । धनगढी उपमहानगरपालिका–१ वडाध्यक्ष सन्तोष मुडभरीले कारागारको फोहर व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय प्रशासनको भएपनि अहिलेसम्म सुनुवाई नगरिँदा समस्या भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो “तीन वर्षअघि प्रशासनले समाधान हुन्छ भनेपछि स्थानीय शान्त भएका थिए, तर अहिलेसम्म समस्या समाधान नहुँदा आक्रोश बढेको छ ।” स्थानीय पार्वती खरेल धनगढी उपमहानगरपालिकाले खोलामा फोहोर फाल्ने सर्वसाधारणलाई जरिवाना गर्ने गरेको देखिएपनि कारागारबाट निस्कने ढलले निजी जग्गा डुबाउँदा चासो नलिएको बताउनुहुन्छ ।

प्रकाशित : १९ पुस २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६