सुदूरपश्चिम, २५ माघ
सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी) केन्द्र, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीबीच समायोजन भई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दल गठन गरिएको छ । तीनवटै दलको आज बसेको संयुक्त बैठकले दल एकीकरण गर्ने निर्णय गरेको साविक एकीकृत समाजवादीका प्रदेशसभा सदस्य माया पन्तले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “समायोजनबारे केन्द्रबाट निर्णय भएर आएको हो, सोहीबमोजिम आज कार्यान्वयन गरिएको हो ।” बैठकले साविक माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टलाई नै नेकपा संसदीय दलको नेताका रूपमा चयन गर्ने निर्णय गरेको छ । दल एकीकरणपछि नेकपाको विधान निर्माणका लागि विधान मस्यौदा समिति गठन गरिएको छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा साविक माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात र एकीकृत समाजवादीका चार सदस्य हुनुहुन्छ । समाजवादीका एक सदस्य भने निलम्बनमा छन् । सत्तापक्ष नेपाली कांग्रेसका १८ र नेकपा (एमाले) बाट ११ सदस्य छन् । राप्रपाबाट एक सदस्य छन् । स्वतन्त्र सदस्य डा तारा जोशीले पदबाट राजीनामा दिएर डडेलधुराबाट प्रतिनिधिसभा सदस्यको प्रत्यासी बन्नुभएको छ । अधिवेशन अन्त्य सुदूरपश्चिम प्रदेशसभाको चालु छैटौँ अधिवेशन आज राति १२ः०० बजेदेखि लागू हुनेगरी अन्त्य भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानबमोजिम प्रदेश प्रमुखबाट बैठक अन्त्य गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा बर्खे अधिवेशन बैठक गत जेठ ११ गते प्रारम्भ भएको थियो । जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिपछि गत पुस १६ गते प्रदेशसभाको चालु अधिवेशनअन्तर्गत बैठक सुरु भएको थियो । —








प्रतिक्रिया