खोटाङ, १० वैशाखः
यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने जनाउँदै गाउँपालिकाले यही वैशाख १३ गतेदेखि सबै विद्यालयमा पठनपाठनका लागि कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । वैशाख १० गतेसम्म भर्ना अभियान र १३ गते आइबारदेखि पठनपाठन सञ्चालन गर्ने गाउँपालिकाका शिक्षा संयोजक तथा वडा नं ६ इन्द्रेणीपोखरीका वडाध्यक्ष वसन्त राईले जानकारी दिनुभयो । गाउँपालिकामा मङ्गलबार बसेको गाउँ शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत १२ गतेको बैठकले शनिबार र आइतबार हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले गत चैत २६ गते ७७ वटै जिल्लामा सरकारले दिएको निर्देशन पालना गर्न पत्राचार गरेको थियो । यहाँका दश स्थानीय तहमा ४८३ सामुदायिक तथा १६ वटा निजी विद्यालय सञ्चालनमा छन् ।







प्रतिक्रिया