खोज–अनुसन्धान

गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन



बेनी (म्याग्दी), २७ वैशाख

धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको छ । छन्त्याल र दलित समुदायको बसोबास रहेको परम्परागत ढुङ्गे घरहरू गुजमुज्ज मिलेर बसेको गुर्जा गाउँमा चलचित्र ‘सारथी’को छायाङ्कन सुरु गरिएको हो । सदरमुकाम बेनीदेखि सबैभन्दा टाढाको दूरीमा जिल्लाको अन्तिम बस्तीका रूपमा रहेको गुर्जामा यसअघि विभिन्न म्युजिक भिडियोको छायाङ्कन गरिएको भए पनि चलचित्रको छायाङ्कन थालिएको भने पहिलो पटक हो । गुर्जा र चुरेन हिमाल अवस्थित गुर्जामा रहेको प्राकृतिक, सांस्कृतिक र परम्परागत जनजीवनको पाटोलाई समेत समेटेर चलचित्रका दृश्य खिच्न थालिएको छ । सामाजिक कथावस्तुमा आधारित सारथी चलचित्रको निर्माण टोली दुई सातादेखि गुर्जामै बसेर चलचित्र निर्माणका लागि कलाकारहरूको अभिनय छायाङ्कन गरिरहेको प्रमुख निर्माता तारा थापाले बताउनुभयो । फिल्म निर्माणका लागि करिब ६० जनाको समूह गुर्जा पुगेको छ । गुर्जाको मुख्य बस्ती, देउराली डाँडालगायत क्षेत्रमा दृश्य छायाङ्कनको काम भइरहेको छ । उत्तम प्रधान, निरुता सिंह, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसीलगायत नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारको अभिनय रहने यस चलचित्रमा गुर्जाकै कलाकार गिरी विश्वकर्मासहित गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मालगायतका नयाँ कलाकारको पनि अभिनय रहने प्रमुख निर्माता थापाले बताउनुभयो । यस चलचित्रको अधिकांश दृश्य गुर्जा वरपर नै छायाङ्कन गरिने निर्देशक कुमार गजुरेलले जानकारी दिनुभयो । गुर्जाकै सामाजिक विषयलाई कथावस्तु बनाएर तयार गर्न लागिएको यस चलचित्रको माध्ययमबाट गुर्जामा लुकेर रहेको पर्यटन सम्भावनालाई समेत विश्वमाझ परिचित गराउन सहयोग पुग्ने उहाँले बताउनुभयो । “केही वर्षअघि हामी गुर्जा हिमालको आधार शिविर पुगेका थियौँ, त्यसबखत नै हामीले गुर्जामा फिल्म बनाउने निधो गरेका थियौँ, यहाँको भूबनोट र प्राकृतिक सौन्दर्यताले गुर्जालाई फिल्म सिटीका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना छ”, निर्देशक गजुरेलले भन्नुभयो । गुर्जामा संसारलाई चिनाउनुपर्ने धेरै ठाउँ र कला संस्कृति भएकाले राष्ट्रियस्तरबाट यसको पहल हुनुपर्ने उहाँको भनाइ छ । जिल्लाकै सबैभन्दा दुर्गम बस्तीको उममा पाएको गुर्जामा हालैमात्र सडक सञ्जालको पहुँच जोडिएको छ । भूगोलले दूरी टाढा भए पनि प्राकृतिक सौन्दर्य र सम्भावनाले भरिपूर्ण गुर्जामा फिल्म छायाङ्कनले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रचारप्रसारमा सघाउने धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । “पहिले केही गीतहरूको भिडियो छायाङ्कन भएका थिए, यसपटक ठूलो पर्दाको चलचित्र नै यहाँ बनिरहेको छ, यसले गुर्जालाई थप परिचित गराउन भूमिका खेल्ने अपेक्षा गरेका छाँै”, उहाँले भन्नुभयो । किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्को सहकार्यमा चलचित्र बन्नेछ । तीस वर्ष लामो फिल्म सम्पादनको अनुभव सम्हाल्नुभएका तारा थापाले निर्माण गर्न लाग्नुभएको यस चलचित्रको निर्मातामा सौर्यल थापा, रदिप श्रेष्ठ, धीरज तामाङ र प्रदीप रायमाझी निर्माताका रूपमा रहनुभएको छ भने कुमार गजुरेलको डेव्यु निर्देशन रहेको छ ।

प्रकाशित : २७ बैशाख २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६