काठमाडौँ, १९ जेठ
नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राजधानी काठमाडौँलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ । कम्पनीले यही जेठ २१ गतेदेखि काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो । नयाँ उडान सेवाअन्तर्गत काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र चीनको शेन्जेन बाओआन अन्तरराष्ट्रिय विमानस्थलबीच साप्ताहिक दुई उडान सञ्चालन गरिनेछ । कम्पनीका अनुसार काठमाडौँबाट शेन्जेनका लागि उडान प्रत्येक मङ्गलबार र बिहीबार हुनेछ भने शेन्जेनबाट काठमाडौँ फर्कने उडान बुधबार र शुक्रबार सञ्चालन हुनेछ । हिमालय एयरलाइन्सले यो सेवा नेपाल–चीन हवाई सम्पर्क विस्तारको दिशामा महत्वपूर्ण कदम भएको जनाउँदै यात्रुको मागका आधारमा भविष्यमा उडान सङ्ख्या थप्ने योजना पनि बनाएको उल्लेख गरेको छ । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ गन्तव्य थपिनु हिमालय एयरलाइन्सको अन्तरराष्ट्रिय सञ्जाल विस्तारको रणनीतिक उपलब्धि भएको बताउनुभयो । उहाँले काठमाडौँ–शेन्जेन उडानले दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै पर्यटन, व्यापार तथा लगानीका अवसर विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “हिमालय एयरलाइन्सले चीनका विभिन्न सहरसँग नेपाललाई जोड्ने प्रयास निरन्तर गर्दै आएको छ । शेन्जेन उडानले नेपाल र चीनबीचको आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनेछ”, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो । चीनको ‘सिलिकन भ्याली’ का रूपमा परिचित शेन्जेन विश्वका प्रमुख प्रविधि, उत्पादन तथा नवप्रवर्तन केन्द्रमध्ये एक मानिन्छ । नयाँ हवाई सेवाले व्यापारिक यात्रु, पर्यटक, विद्यार्थी तथा लगानीकर्तालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । हिमालय एयरलाइन्सले यात्रुलाई सुरक्षित, सहज र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । कम्पनीले नयाँ उडान सञ्चालनसँगै नेपाल र चीनबीच पर्यटन प्रवद्र्धन, व्यापार विस्तार तथा जनस्तरको सम्बन्ध सुदृढ हुने अपेक्षा गरेको छ ।









प्रतिक्रिया