ब्रासिलिया, १२ कात्तिक (रासस/एएनआई) :
ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिका पुगेपछि आफू निर्वाचित राष्ट्रपति भएको दाबी गर्नुभएको छ । उहाँले ब्राजिलको चुनावमा धाँधली भएको आरोप लगाउँदै अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने बताउनुभएको छ । यसअघि वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले दोस्रो चरणको निर्वाचनमा विजय हासिल गर्नुभएको थियो । पैँतालिस वर्षीय बोल्सोनारो बुधबार मियामी नजिकै निजी विमानबाट अमेरिका पुग्नुभएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको निर्वाचन प्रक्रिया असामान्य भएको धारणा दोहो¥याए पनि बोल्सोनारोको राष्ट्रपति पदसम्बन्धी दाबीमा आफू संलग्न नहुने बताउनुभएको छ । फ्लेभियोका पिता तथा पूर्वराष्ट्रपति जाइर बोल्सोनारो सन् २०२२ को निर्वाचनमा लुलासँग पराजित भएपछि परिणाम उल्ट्याउने प्रयासमा असफल हुनुभएको थियो । उहाँ अहिले घरमै नजरबन्दमा हुनुहुन्छ । फ्लेभियोले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको सामना गरिरहनुभएको छ । संसदीय संरक्षणको अवधि सकिन लाग्दा उहाँलाई राहदानी बुझाउन निर्देशन दिइएको थियो । तर, उहाँ अर्जेन्टिना र इक्वेडर हुँदै अमेरिका पुग्नुभएको बताइएको छ । अमेरिकी गृह सुरक्षा विभागले उहाँको परिवारका सदस्यहरूले आवश्यक जाँचपछि आप्रवासन कानूनअनुसार प्रवेश अनुमति पाएको जनाएको छ । लुलाले बोल्सोनारोको देश छाड्ने निर्णयलाई ‘लाजमर्दो’ बताउँदै आफ्नो देश छाडेर जाने व्यक्तिसँग लुकाउनुपर्ने केही कुरा हुन सक्ने टिप्पणी गर्नुभएको थियो । यद्यपि, ब्राजिलका कानून कार्यान्वयन अधिकारीहरूले बुधबार बोल्सोनारोलाई औपचारिक रूपमा फरार घोषणा नगरिएको स्पष्ट पारेका छन् । –––
१३ कार्तिक २०८३, बिहिबार









प्रतिक्रिया