ब्रासिलिया, १२ कात्तिक (रासस/एएनआई) :
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिबीच क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली सङ्घ (इयु) सँग व्यापार, रक्षा र आर्थिक सहकार्य विस्तार गर्न पहल गर्नुभएको छ । तर, क्यानाडालाई इयुको ‘सहयोगी सदस्य’ बनाउने प्रस्तावमा फ्रान्स र जर्मनीसहित केही सदस्य राष्ट्रले असन्तुष्टि जनाएका छन् । इयुरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा मोन्ट्रियलमा आयोजित शिखर सम्मेलनमा सहभागी हुँदै हुनुहुन्छ । सम्मेलनमा व्यापार, रक्षा, प्रविधि, अनुसन्धान र महत्त्वपूर्ण खनिजमा सहकार्य बढाउने प्रस्ताव छ । कार्नीले साझेदारीको नामभन्दा त्यसबाट नागरिक, व्यवसायी र अनुसन्धानकर्ताले पाउने अवसर महत्त्वपूर्ण हुने बताउनुभएको छ । ट्रम्पले प्रस्तावित सम्बन्धलाई ‘शत्रुतापूर्ण कार्य’ ठान्न सकिने र आवश्यक परे युरोपमाथि भन्सार शुल्क लगाउन सकिने चेतावनी दिनुभएको छ । क्यानाडाली अधिकारीहरूले भने इयुसँगको सहकार्य अमेरिकाविरुद्ध लक्षित नभई साझा हितमा आधारित रहेको बताएका छन् । क्यानाडाले थप ७२ अमेरिकी एफ–३५ लडाकू विमान खरिद गर्ने योजना पुनरावलोकन गर्दै स्विडेनको साब ग्रिपेनलाई विकल्पका रूपमा विचार गरिरहेको छ । सन् २०२५ मा क्यानाडाको कुल निर्यातको ७१.७ प्रतिशत अमेरिका गएको थियो । प्रधानमन्त्री कार्नीले आगामी दशकमा अन्य देशतर्फको निर्यात दोब्बर बनाउने लक्ष्य राख्नुभएको छ । क्यानाडा र इयुबीच डिजिटल व्यापार तथा महत्त्वपूर्ण खनिजमा लगानी बढाउने विषयमा पनि छलफल भइरहेको छ । प्रस्तावित साझेदारीले अमेरिकी अर्थतन्त्र र सुरक्षामाथिको निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया