गाजा, १२ कात्तिक (रासस/क्युएनए) :
इजरायली सेनाको नियन्त्रण र प्रतिबन्धका कारण गाजाको ७० प्रतिशतभन्दा बढी भूभागमा प्यालेस्टिनीको पहुँच सीमित भएको छ । मानव अधिकारका लागि गाजा केन्द्रका अनुसार आवास र आश्रयका लागि प्रयोग गर्न सकिने क्षेत्र गाजाको कुल भूभागको करिब १५ प्रतिशतमा खुम्चिएको छ । केन्द्रका अनुसार इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रको सीमा पश्चिमतर्फ बढाउँदै लगेको छ । साथै, गोलाबारी गर्ने, गोली चलाउने र भवन तथा संरचना भत्काउने कार्यले प्यालेस्टिनीहरूलाई बाक्लो बस्ती भएका क्षेत्रबाट विस्थापित हुन बाध्य बनाइरहेको छ । गाजाको कुल क्षेत्रफल ३६५ वर्ग किलोमिटर छ । केन्द्रका अनुसार ध्वस्त भएका क्षेत्र र आधारभूत सेवाको अभावलाई समेत विचार गर्दा आवास तथा आश्रयका लागि उपलब्ध जमिन निकै सीमित भएको छ । पटकपटकको विस्थापन, आश्रयको अभाव र पुनर्निर्माणमा लगाइएको प्रतिबन्धले नागरिकको कठिनाइ बढाएको तथा उनीहरूलाई सुरक्षित रूपमा घर फर्कन अवरोध पुगेको केन्द्रले जनाएको छ । केन्द्रले यी गतिविधिले चौथो जेनेभा महासन्धिको धारा ४९ उल्लङ्घनसम्बन्धी चिन्ता उत्पन्न गरेको बताएको छ । उक्त धाराले सीमित परिस्थितिबाहेक कब्जा गरिएको क्षेत्रका संरक्षित व्यक्तिलाई जबर्जस्ती स्थानान्तरण गर्न निषेध गर्छ । केन्द्रले युद्धविराम कायम गराउन भूमिका खेलेका अमेरिका, इजिप्ट, कतार र टर्कीलाई इजरायली सेनाले आफ्नो नियन्त्रणमा लिएको क्षेत्र थप विस्तार गर्न रोक्न, नागरिकको सुरक्षा गर्न र गाजाको पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेको छ । साथै, विस्थापित प्यालेस्टिनीलाई सुरक्षित र स्वेच्छाले आफ्नो घर फर्कन सक्ने अवस्था सुनिश्चित गर्न पनि उसले आह्वान गरेको छ ।
१३ कार्तिक २०८३, बिहिबार









प्रतिक्रिया